काठमाण्डौ । नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ काठमाण्डौबाट पक्राउ परेका छन्।
बैंकिङ कसूरसम्बन्धी मुद्दामा दोषी ठहर भई ६ वर्ष कैद तथा २२ करोड ६७ लाख रुपैयाँभन्दा बढी जरिबाना सजाय सुनाइए पनि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
लामो समयदेखि फरार रहेका ६९ वर्षीय श्रेष्ठलाई प्रहरीको विशेष टोलीले आइतबार काठमाडौंको सितापाइलाबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।
श्रेष्ठले नेपाल सेयर मार्केट्स एण्ड फाइनान्समा कार्यरत रहँदा निक्षेपकर्ताको बचत तथा संस्थाको पुँजीमा अनियमितता गरी व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको पुष्टि भएको थियो। यस सम्बन्धमा नेपाल राष्ट्र बैंकको जाहेरीपछि उनीविरुद्ध बैंकिङ कसूर ऐन अन्तर्गत मुद्दा अघि बढाइएको थियो।
यस मुद्दामा सर्वोच्च अदालतले २०८१ भदौ ५ गते दुई फरक–फरक मुद्दामा उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो। अदालतले पहिलो मुद्दामा ३ वर्ष कैद र १९ करोड ४६ लाख रुपैयाँ जरिबाना तथा दोस्रो मुद्दामा थप ३ वर्ष कैद र ३ करोड २१ लाख रुपैयाँ जरिबानाको फैसला गरेको थियो।
यसरी अदालतले उनलाई कुल ६ वर्ष कैद र २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ जरिबाना तिर्नुपर्ने सजाय निर्धारण गरेको थियो। फैसला आएपछि फरार रहेका श्रेष्ठलाई प्रहरीले खोजी गर्दै आएको थियो। आइतबार पक्राउ परेसँगै अब उनीमाथि अदालतको फैसला कार्यान्वयन प्रक्रिया सुरु भएको छ।

