काठमाण्डौ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ । सिंहदरबारमा निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्ने तय गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले चैत १६ गते संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्का दुवै सदनको अधिवेशन आजका लागि आह्वान गरेका थिए ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी—भौतिक संरचना, सुरक्षा व्यवस्था, प्राविधिक पक्ष तथा जनशक्ति—पूरा भइसकेको छ । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको बैठक भने संसद् सचिवालय परिसरभित्र रहेको राष्ट्रियसभा कक्षमै सञ्चालन हुनेछ ।
संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र संसद् अधिवेशन बोलाउनुपर्ने प्रावधान छ । निर्वाचन आयोगले चैत ५ गते प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम नतिजासहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको थियो ।
२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ जना, नेपाली कांग्रेसका ३८ जना, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २५ जना, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १७ जना, श्रम संस्कृति पार्टीका ७ जना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ५ जना र एक स्वतन्त्र सांसद रहेका छन् ।

