काठमाण्डौ । अन्तर्राष्ट्रिय कच्चा तेल बजारमा मूल्यमा वृद्धि देखिएको छ। बिहिबारको कारोबारमा डब्लूटीआई क्रुडको मूल्य १.७५ प्रतिशतले बढ्दै प्रतिब्यारेल ९४.५९ डलर कायम भएको छ ।
यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि १.५० प्रतिशतले बढेर प्रतिब्यारेल १०३.४ डलरमा कारोबार भईरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई वार्ता प्रगति नभएसम्म विस्तार गर्ने बताएका छन्। साथै, उनले तेहरानले एकीकृत प्रस्ताव नदिएसम्म इरानका बन्दरगाहहरूमा नाकाबन्दी जारी रहने संकेत दिएका छन्।
हर्मुज जलमार्गबाट विश्वको करिब एक–पाँच भाग ऊर्जा आपूर्ति हुने भएकाले यहाँको कुनै पनि असुरक्षाले विश्व बजारमा प्रत्यक्ष असर पार्ने गर्छ। हाल इरानले उक्त क्षेत्रलाई प्रभावकारी रूपमा नियन्त्रणमा राखेको र जहाज आवागमन प्रभावित भएको बताइएको छ।
हालको तनाव इरान र इजरायलबीच फेब्रुअरी २८ मा भएको अमेरिकी समर्थनसहितको सैन्य कारबाहीपछि अझ बढेको हो। त्यसपछि इरानले रणनीतिक जलमार्गमा लक्षित कारबाही गर्ने चेतावनी दिएको थियो, जसले ऊर्जा बजारमा दीर्घकालीन जोखिमको संकेत दिएको छ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा भइरहेको कूटनीतिक वार्ता पनि अनिश्चित बनेको छ। उनी पाकिस्तान भ्रमणमा जाने कार्यक्रम स्थगित गरिएको अमेरिकी पक्षले जनाएको छ।

