काठमाण्डौ। नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पद पूर्तिका लागि अर्थ मन्त्रालयले औपचारिक रूपमा आवेदन आह्वान गर्दै नियुक्ति प्रक्रिया अघि बढाएको छ। मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकलाई तोकिएको समयसीमाभित्र व्यक्तिगत विवरण (CV) सहित आवेदन पेश गर्न आग्रह गरेको हो।
सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले वैशाख २१ गतेभित्र सिंहदरबारस्थित वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। आवेदन अवधि ७ दिनको मात्र राखिएकोले योग्य व्यक्तिहरूलाई समयमै प्रक्रिया पूरा गर्न मन्त्रालयले अनुरोध गरेको छ।
अध्यक्ष पदका लागि न्यूनतम स्नातकोत्तर उपाधि अनिवार्य गरिएको छ भने पूँजी बजार व्यवस्थापन, वित्तीय, आर्थिक, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा ७ वर्षको पेशागत अनुभव भएको हुनुपर्नेछ। साथै उच्च नैतिक चरित्र, पेशागत दक्षता तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार अयोग्य नभएको स्पष्ट मापदण्ड तोकिएको छ।
उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबारजस्ता गम्भीर फौजदारी कसूरमा सजाय पाएको, कालोसूचीमा परेको वा विदेशी स्थायी आवासीय अनुमति लिएको व्यक्ति भने स्वतः अयोग्य हुनेछन्।
आवेदनका लागि वैयक्तिक विवरण (Bio-data), नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, पेशागत अनुभव खुल्ने कागजात तथा तोकिएको ढाँचाको स्वघोषणा फाराम अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ। गलत विवरण वा कागजात पेश गरेमा आवेदन स्वतः रद्द हुने चेतावनी समेत मन्त्रालयले दिएको छ।
सिफारिस समितिले प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी आवश्यक मापदण्डका आधारमा संक्षिप्त सूची तयार गर्नेछ। समितिले कुनै कारण उल्लेख नगरी पनि केही आवेदकको नाम अन्तिम सूचीमा समावेश नगर्न सक्ने व्यवस्था रहेको छ।

