काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सुनसरी मोरङ औद्योगिक कोरिडरका उद्योग प्रतिनिधिहरुलाई श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि ‘आरएमए–र्यापिड मार्केट असेसमेन्ट’सम्बन्धी अभिमुखीकरण कार्यक्रम ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)को सहयोगमा सम्पन्न भएको छ । महासंघका कोषाध्यक्ष सुवास आचार्यको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा आर्चायले श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि महासंघले थालेको यस प्रयासले उद्योग प्रतिष्ठानहरूमा कामदारको माग र आपूर्तिको बेमेललाई सम्बोधन गर्ने बताए । कार्यक्रममा सगरमाथा गार्मेन्ट इटहरीका सञ्चालक डम्बर तामाङले सरकारले श्रमिकहरूलाई प्रदान गरेको न्यूनतम पारिश्रमिकले जीविकोपार्जन गर्न धौधौ परिरहेको र अझै पनि यो कतिपय उद्योग प्रतिष्ठानहरूले पूर्णरूपमा लागू नगरेको बताए ।
औषधि व्यवसायी संघका अध्यक्ष कुमार खतिवडाले यो क्षेत्रमा धेरै दक्ष जनशक्तिको आवश्यकता रहेकोले जनशक्ति प्राप्ति गर्न कठिनाइ रहेको बताए । रिलायन्स स्पीनिङका तिलकराज कार्कीले यस सूचना प्रणालीमा बढीभन्दा बढी आबद्धता गर्न सकियो भने फाइदा पुग्ने बताउँदै यसले ग्रासरुटका मान्छेलाई कसरी जोड्न सक्छ भनी प्रश्न गरे ।
रघुपति जुट मिल्सका सुदन पोखरेलले मानव संसाधन विकास सम्बन्धी जुट उद्योगमा चाहिने सपिन्निङ र लुम सम्बन्धी सिप भएका जनशक्ति पाउन गाह्रो भएको बताए । कार्यक्रममा आसमान नेपालका संयोजक गणेश दाहालले महासंघको श्रम बजार सूचना प्रणाली संस्थागत विकास पहलको प्रशंसा गरे । निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष ध्रुवराज कार्कीले निर्माण व्यवसाय क्षेत्रमा दक्ष जनशक्तिको आपूर्ति हुन नसकेको बताए ।
कार्यक्रममा समृद्धि हेल्भेटासका कार्यक्रम अधिकृत पोषराज निरौलाले यस सफ्टवेयर मार्फत रोजगारदातालाई सम्नन्धित सरोकारवालाहरुसंग प्रत्यक्ष जोड्न खोजेको बताउँदै महासंघको पहलमा निर्माण हुने यस प्लेटफर्ममा उद्योग प्रतिष्ठानहरूले पहुँच राख्ने हुँदा अहिले देखिएको जनशक्ति सम्बन्धी माग र आपूर्ति सम्बन्धी समस्याको समाधान हुने बताए । कार्यक्रममा विभिन्न उद्योग प्रतिष्ठान व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरू गरी करिब ५० जनाको सहभागिता रहेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।