काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ। यससँगै काठमाण्डौमा पेट्रोलको मूल्य अब २१७ रुपैयाँ कायम भएको छ। यसअघि काठमाण्डौ, दिपायल र पोखरामा पेट्रोल प्रतिलिटर २१९ रुपैयाँ थियो।
त्यसैगरी, डिजेल र मट्टितेलको मूल्यमा कमी गरिएको छ। दुवै इन्धनको मूल्य प्रतिलिटर १२ रुपैयाँले घटाइएको निगमले जनाएको छ।
यद्यपि, खाना पकाउने एलपी ग्यासको मूल्य भने वृद्धि गरिएको छ। ग्यासमा प्रतिसिलिण्डर १५० रुपैयाँले वृद्धि भई नयाँ मूल्य २ हजार १६० रुपैयाँ पुगेको छ।
यसैबीच, आन्तरिकतर्फ प्रयोग हुने हवाइ इन्धनको मूल्य पनि बढाइएको छ। निगमका अनुसार हवाइ इन्धनमा प्रतिलिटर ७ रुपैयाँले वृद्धि गरिएको हो।
निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य समायोजन तथा लागत संरचनाका आधारमा मूल्य हेरफेर गरिएको जनाएको छ।

