काठमाण्डौं । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनबीच उच्चस्तरीय शिखर वार्ता हुने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार बेइजिङमा बहुप्रतीक्षित भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।
यस वार्तालाई अन्तर्राष्ट्रिय समुदायले व्यापार, प्रविधि र भूराजनीतिक सम्बन्धका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको छ ।
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार राष्ट्रपति ट्रम्प बुधबार साँझ तीन दिने राजकीय भ्रमणका लागि बेइजिङ पुगेका हुन ।
यो उनको सन् २०१७ पछि पहिलो चीन भ्रमण हो । भ्रमणका क्रममा उनलाई ग्रेट हल अफ द पिपुल्समा राजकीय स्वागत, उच्चस्तरीय भेटघाट, चियापान तथा राजकीय भोजसहित विशेष सम्मान प्रदान गरिनेछ ।
बेइजिङ भ्रमणअघि नै राष्ट्रपति ट्रम्पले अमेरिका–चीन व्यापार सम्बन्धलाई नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत दिएका छन् ।
उनले चीनलाई अमेरिकी व्यवसाय र प्रविधि कम्पनीहरूका लागि अझ खुला बनाउन आग्रह गर्दै राष्ट्रपति सी चिनफिङलाई “असाधारण दृष्टिका नेता” भन्दै प्रशंसा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले चीनलाई अमेरिकी प्रविधि र प्रतिभाका लागि अझ खुला गर्नुपर्ने आवश्यकता औंल्याउँदै दुवै देशबीच सहकार्य विस्तार गर्नुपर्ने धारणा राखे ।
ट्रम्प प्रशासनले यो भ्रमणलाई केवल कूटनीतिक औपचारिकताका रूपमा नभई व्यापार, प्रविधि र रणनीतिक सम्बन्ध पुनः सन्तुलन गर्ने अवसरका रूपमा लिएको देखिन्छ ।
सोही कारण अमेरिकी व्यापार तथा प्रविधि क्षेत्रका प्रमुख व्यवसायीहरू पनि भ्रमण टोलीमा सहभागी भएका छन् ।
यता, चीनले पनि अमेरिका–चीन सम्बन्ध सुधारसँगै पश्चिम एसियामा देखिएको तनाव व्यवस्थापनमा भूमिका विस्तार गर्ने संकेत दिएको छ ।
विशेषगरी अमेरिका–इरानबीचको तनाव अन्त्य गर्न कूटनीतिक प्रयास आवश्यक रहेको भन्दै चीनले क्षेत्रीय स्थिरताका लागि मध्यस्थता बढाउन चाहेको देखिएको छ ।
यसै क्रममा चीनको विदेश मन्त्रालयले पाकिस्तानलाई समेत संवाद प्रक्रियामा सहजीकरण गर्न आग्रह गरेको बताइएको छ ।
दुई नेताबीचको भेटमा व्यापार असन्तुलन, प्रविधि प्रतिस्पर्धा, कृत्रिम बौद्धिकता (एआई) को विकास र सुरक्षा, दुर्लभ खनिज निर्यात नियन्त्रण तथा भूराजनीतिक तनाव प्रमुख एजेन्डा हुने अपेक्षा गरिएको छ ।
गत अक्टोबरमा दक्षिण कोरियामा भएको भेटपछि यो दोस्रो प्रत्यक्ष वार्ता हो, जसमा पहिले शुरु गरिएको व्यापार युद्धविरामलाई थप एक वर्ष लम्ब्याउने विषयमा पनि छलफल हुने बताइएको छ ।
यसैबीच, इरानविरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको सैन्य अभियानको लागत अत्यधिक बढ्दै गएको विवरण सार्वजनिक भएको छ ।
पेन्टागनका अनुसार हालसम्म करिब २९ अर्ब अमेरिकी डलर खर्च भइसकेको भएपनि दीर्घकालीन लागत, पूर्वसैनिकहरूको स्वास्थ्य सेवा, सैन्य पुनर्निर्माण र नयाँ हतियार उत्पादन समेत जोड्दा यो खर्च १० खर्ब अमेरिकी डलरसम्म पुग्न सक्ने विज्ञहरूको चेतावनी छ ।
हार्वर्ड केनेडी स्कुलको अध्ययनले पनि युद्धको वास्तविक लागत सार्वजनिक तथ्याङ्कभन्दा धेरै गुणा बढी हुन सक्ने देखाएको छ ।
युद्ध बजेट विशेषज्ञ लिन्डा बिल्मेसका अनुसार अहिले देखिएको खर्च केवल प्रारम्भिक अनुमान मात्र हो, आगामी वर्षहरूमा यसको आर्थिक भार अझै बढ्ने सम्भावना रहेको छ । एजेन्सी

