काठमाण्डौ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अब प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आमाबुवाका लागि खर्च गर्नुपर्ने बताएकी छिन् ।
सुनसरीको गढी गाउँपालिका ६ सत्तरझोडामा आयोजित झुल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । ‘ज्येष्ठ नागरिकको सेवा गर्न पाउनु भनेको हामी सबैका लागि गर्वको विषय हो र त्यो हाम्रो जिम्मेवारी पनि हो । अब प्रत्येक व्यक्तिले कमाइको १० प्रतिशत आफ्नो बाबा आमाका लागि खर्च गर्नुपर्छ’ उनले भनिन् । ज्येष्ठ नागरिकको सुरक्षाका निम्ति यो काम गर्न आवश्यक रहेको मन्त्री चौधरीले बताइन् । सबैभन्दा पहिले जनप्रतिनिधिबाट यो कार्यको सुरुआत गर्नुपर्ने भन्दै उनले बिस्तारै सबै क्षेत्रमा सुरु हुने विश्वास व्यक्त गरिन् ।
त्यस्तै अपंगता भएका व्यक्तिहरूको पक्षमा पनि यो काम अनिवार्य हुन जरुरी रहेको उनले बताइन् । यसैबीच त्यस अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आफ्नो निर्वाचन क्षेत्रका ज्येष्ठ नागरिक, अपांगता भएका र विपन्न वर्गका परिवारलाई झुल वितरण गरिन्।
मन्त्री चौधरीले सुनसरीको गढी गाउँपालिका ६ सत्तरझोडामा आयोजित एक कार्यक्रमका बीच १२० त्यस्ता परिवारलाई व्यक्तिलाई झुल वितरण गरेकी हुन्।