काठमाण्डौ । सरकार पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नीति कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत फागुन २८ गते नेपाल राजपत्रमा प्रकाशित गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ अनुसार नेपाल आयल निगमले इथानोल खरिद प्रक्रिया अघि बढाउने भएको हो।
सरकारले पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरेको छ । निगमले उपलब्धता र गुणस्तरका आधारमा इथानोल खरिद गरी पेट्रोलमा मिश्रण गर्नेछ भने आवश्यकताअनुसार मन्त्रिपरिषद्ले मिश्रणको अनुपात हेरफेर गर्न सक्ने प्रावधान राखिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उत्पादन तथा आपूर्ति गर्न इच्छुक उत्पादकले आयल निगममा निवेदन दर्ता गर्न सक्ने जनाएको छ ।
आदेशअनुसार इथानोल उत्पादनका लागि चिनी उद्योगबाट निस्कने खुदो (मोलासेस), नेपियर घाँस, कृषि तथा वनजन्य जैविक पदार्थ, पराल, मकैको ढोड, गहुँको छ्वाली, कास्साभा, सडेगलेका अन्नलगायत कच्चा पदार्थ प्रयोग गर्न सकिनेछ। सरकारले मानिसले प्रत्यक्ष खाद्यान्नका रूपमा प्रयोग गर्ने अन्न भने प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ। यस्तै सडेगलेका अन्न, पिना, काठजन्य पतकर र अन्य आवश्यक रसायन पनि प्रयोग गर्न पाइने छैन ।
नेपालले वार्षिक रूपमा ठूलो परिमाणमा पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ। इथानोल मिश्रणले आयातित पेट्रोलको खपत केही हदसम्म घटाउन सहयोग पुग्ने सरकारको विश्वास छ। साथै विदेशी मुद्रा बाहिरिने दर कम गर्न र ऊर्जा क्षेत्रमा आत्मनिर्भरता बढाउन यो नीति महत्वपूर्ण मानिएको छ।

