काठमाण्डौ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशनको ३१औँ बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूचीअनुसार बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धिसम्बन्धी प्रस्तावहरू छलफलका लागि प्रस्तुत गरिनेछन्।
संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा श्रम मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण प्रस्तावहरू पेश हुनेछन्।
प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था पुनःस्थापना सम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। मन्त्री गौतमले उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गरेपछि त्यसलाई सभामा औपचारिक रूपमा प्रस्तुत गरिनेछ।
त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।
यसैगरी युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्धित दुई महत्वपूर्ण प्रस्तावहरू सभामा प्रस्तुत गर्नेछन्। उनले बाध्यकारी श्रम सम्बन्धी १९३० को महासन्धि अन्तर्गत २०१४ को प्रोटोकल नम्बर २९ तथा श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नम्बर ८१) माथि विचार गरियोस् भन्ने प्रस्तावहरू अलग–अलग रूपमा पेश गर्नेछन्।

