काठमाण्डौ। सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिव पदमा नियुक्त गरेको हो।
बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यका विकास प्राधिकरणको रिक्त विकास आयुक्त पदमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गरिएको बताए।
यस्तै, सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ।
बैठकले ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’ तथा ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ पनि स्वीकृत गरेको छ।
मन्त्रिपरिषद्ले प्रशासनिक तथा कानुनी सुधारअन्तर्गत ‘कारागार नियमावली, २०८३’ स्वीकृत गरेको छ। साथै, मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना र भ्रष्टाचारविरुद्धको दोस्रो रणनीति योजना पनि स्वीकृत गर्ने निर्णय भएको छ।

