काठमाण्डौ । भारतको राजधानी नयाँ दिल्लीमा सोमबार ‘चलो संसद्’ अभियानका क्रममा तनावपूर्ण अवस्था सिर्जना भएको छ। कक्रोज जनता पार्टी(सीजेपी) को आह्वानमा हजारौँ प्रदर्शनकारी संसद् भवनतर्फ अघि बढेपछि सुरक्षा निकायसँग झडप भएको हो। प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको जनाएको छ।
प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएका छन्। उनीहरूले निट परीक्षामा भएको भनिएको अनियमितता र शिक्षा क्षेत्रमा देखिएका समस्याको विरोध गर्दै संसद् अगाडि मार्च गर्ने कार्यक्रम राखेका थिए।
प्रदर्शन बढ्दै गएपछि संसद् क्षेत्र वरपर सुरक्षा व्यवस्था कडा बनाइएको थियो। संसद् परिसरका प्रवेशद्वारहरूमा कडाइ गरिएको र प्रधानमन्त्री नरेन्द्र मोदी पनि सुरक्षा व्यवस्थाबीच संसद् भवनबाट बाहिरिएको विवरण सार्वजनिक भएको छ।
नयाँ दिल्लीका विभिन्न क्षेत्रमा भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ अन्तर्गत निषेधाज्ञा लागू गरिएको थियो। प्रहरीले संसद् मार्चका लागि औपचारिक अनुमति नदिइएको बताएको छ।
प्रदर्शनकारीहरू जंतर–मंतर, संविधान क्लब, भारतीय रिजर्भ बैंक आसपासका क्षेत्र हुँदै संसद् तर्फ अघि बढ्ने क्रममा अवरोध तोड्ने प्रयास गरेको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले अश्रुग्यास र लाठी प्रयोग गरेर भीड नियन्त्रण गरेको थियो।
प्रहरीले केही स्थानमा ढुंगामुढा भएको दाबी गरेको छ भने आन्दोलनकारी पक्षले भने प्रहरी कारबाहीको विरोध गरेको छ।
आन्दोलन चर्किँदै गएपछि केन्द्र सरकारले सीजेपी प्रतिनिधिसँग संवाद सुरु गर्ने संकेत दिएको छ। सीजेपी नेताहरूले केन्द्रीय मन्त्री जेपी नड्डासँग वार्ताका लागि जाने बताएका छन्।
यो आन्दोलन एक महिनाभन्दा लामो समयदेखि जारी रहेको र शिक्षा प्रणाली सुधार, परीक्षा सुरक्षालगायतका मागलाई केन्द्रमा राखिएको सीजेपीको भनाइ छ।
सोनम वाङचुकले प्रदर्शनमा सहभागी हुन इच्छा व्यक्त गरे
शिक्षाविद् तथा अभियन्ता सोनम वाङचुकले अस्पतालबाटै संसद् मार्चमा सहभागी हुन अनुमति मागेको बताइएको छ। उनले शिक्षा क्षेत्रमा देखिएका समस्याको जिम्मेवारी सरकारले लिनुपर्ने वा संसद्मा विषय उठाउने सुनिश्चितता भए अनशन अन्त्य गर्ने संकेत दिएका छन्।
अस्पताल प्रशासनले उनको स्वास्थ्य अवस्था स्थिर रहेको तर निरन्तर निगरानी आवश्यक रहेको जनाएको छ।
सीजेपी संस्थापक अभिजीत दिप्केले सोमबार अनशन अन्त्य गरेका छन्। उनलाई एक निट विद्यार्थीका अभिभावकले अनशन तोड्न आग्रह गरेको बताइएको छ। त्यसपछि उनले आन्दोलनको नेतृत्व जारी राख्ने बताएका छन्।
प्रदर्शनलाई विभिन्न राजनीतिक दल तथा सार्वजनिक व्यक्तित्वहरूले समर्थन जनाएका छन्। समर्थन गर्नेहरूमा तृणमूल कांग्रेसकी सांसद महुआ मोइत्रा, आजाद समाज पार्टीका नेता चन्द्रशेखर आजाद, आम आदमी पार्टीका नेताहरू आतिशी, सञ्जय सिंह, मनीष सिसोदिया र गोपाल रायलगायत रहेका छन्।
आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले सरकारलाई युवाको आवाज सुन्न आग्रह गरेका छन्। कांग्रेस सांसद शशि थरुरले पनि प्रदर्शनकारीमाथि बल प्रयोगबारे प्रश्न उठाएका छन्।
प्रदर्शनका कारण जंतर–मंतर, संसद् मार्ग, रायसिना रोड र आसपासका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। ब्यारेकेड, दंगा नियन्त्रण टोली र र्यापिड एक्सन फोर्सका जवानहरू तैनाथ गरिएको थियो।
प्रदर्शनकारीहरूले दिउँसोसम्म पनि संसद् नजिक पुग्ने प्रयास जारी राखेका थिए भने प्रशासनले राजधानीको सुरक्षा अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ।

