काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका अनुसार देशको कुल उर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा पुगेको छ। हाल नेपालले भारतबाट विद्युत् आयात नगरी आन्तरिक उत्पादनबाटै माग व्यवस्थापन गरिरहेको छ। प्राधिकरणले २२ हजार १०२ मेगावाट घण्टा बराबर विद्युत् निर्यातसमेत गरिरहेको जनाएको छ।
प्राधिकरणको प्रणालीमा निजी ऊर्जा उद्यमीहरूले सबैभन्दा बढी योगदान दिइरहेका छन्। निजी क्षेत्रबाट ४७ हजार ५६३ मेगावाट घण्टा बराबर विद्युत् आपूर्ति भएको छ। यस्तै, प्राधिकरणका सहायक कम्पनीहरूले १७ हजार १०८ मेगावाट घण्टा र प्राधिकरणका आफ्नै आयोजनाहरूले ८ हजार ९५९ मेगावाट घण्टा बराबर ऊर्जा उपलब्ध गराएका छन्।
प्राधिकरणका अनुसार हाल राष्ट्रिय विद्युत् माग ५१ हजार ५२७ मेगावाट घण्टा बराबर रहेको छ। साँझको समयमा कुल माग ३ हजार २४८ मेगावाट पुगेको छ।
वर्षाका कारण देशभर विद्युत् आपूर्तिमा कुनै अवरोध नरहेको प्राधिकरणले जनाएको छ। सम्भावित अवरोध तत्काल समाधान गर्न प्राविधिक जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ।
प्राधिकरणले विद्युत् प्रणालीको नियमित सञ्चालन र मर्मतसम्भारका लागि सातवटै प्रदेश कार्यालय तथा काठमाडौंमा विशेष प्राविधिक टोली परिचालनका लागि तयारी अवस्थामा राखेको जनाएको छ।

