बुधबार, श्रावण १३,२०८३ 07:51:43
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 07:51:43
Bizshala
Global IME Bank Limited

विद्युत् महसुल पुनरावलोकन र आयोजना छानबिनका लागि दुई उच्चस्तरीय समिति गठन

विद्युत् महसुल पुनरावलोकन र आयोजना छानबिनका लागि दुई उच्चस्तरीय समिति गठन
New Office

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले विद्युत् महसुल पुनरावलोकन तथा विगतका विद्युत् खरिद प्रक्रिया र सञ्चालित आयोजनाको छानबिनका लागि दुई छुट्टाछुट्टै उच्चस्तरीय समिति गठन गरेको छ।

बुधबार बसेको सञ्चालक समिति बैठकले उपभोक्तालाई सहुलियत प्रदान गर्ने, विद्युत् खपत वृद्धि गर्ने तथा संस्थागत पारदर्शिता कायम गर्ने उद्देश्यले ती समिति गठन गर्ने निर्णय गरेको हो।

उत्पादित विद्युत्को अधिकतम उपयोग सुनिश्चित गर्न, घरायसी उपभोक्तालाई सहुलियत दिन तथा उत्पादनमूलक उद्योगलाई उपयुक्त महसुल दरमा विद्युत् उपलब्ध गराउने उद्देश्यले महसुल पुनरावलोकन समिति गठन गरिएको प्राधिकरणले जनाएको छ।

सञ्चालक समिति सदस्य अंशु किरण शाही को संयोजकत्वमा गठित उक्त समितिलाई नयाँ विद्युत् महसुल दर सिफारिससहितको प्रतिवेदन १५ दिनभित्र पेश गर्ने कार्यादेश दिइएको छ।

समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि तथा ऊर्जा, उपभोक्ता र वित्त क्षेत्रका विज्ञहरू सदस्य रहेका छन्। समितिको सदस्य सचिवको जिम्मेवारी नेविप्राको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशकलाई दिइएको छ।

यसैगरी, नेपाल विद्युत् प्राधिकरणबाट विगतमा भएका विद्युत् खरिद प्रक्रिया तथा सञ्चालनमा रहेका आयोजनासम्बन्धी प्राप्त उजुरी र गुनासोको छानबिन गर्न अर्को समिति गठन गरिएको छ।

सञ्चालक समिति सदस्य शम्भु के।सी। को संयोजकत्वमा गठन भएको उक्त समितिले विगतका खरिद प्रक्रिया र आयोजनासम्बन्धी उजुरीहरूको अध्ययन गरी प्रतिवेदन बुझाउनेछ। समितिलाई आफ्नो कार्य सम्पन्न गर्न दुई महिनाको समय दिइएको छ।

छानबिन समितिमा प्राविधिक, कानुनी तथा खरिद क्षेत्रका विज्ञहरू सदस्य रहेका छन् भने सदस्य सचिवको जिम्मेवारी प्राधिकरणले तोकेको उपकार्यकारी निर्देशकलाई दिइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.