काठमाण्डौ । इन्डोनेसियाको समुद्रमा यात्रुवाहक फेरीमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ४१ जना बेपत्ता भएका छन्। इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार निकायका अनुसार फेरीमा चालक दलसहित कुल २७१ जना सवार थिए। उक्त जहाज पूर्वी जावाको सुराबायाबाट दक्षिण सुलावेसीको मकासारतर्फ गइरहेको बेला मदुरा द्वीप नजिकै आगलागी भएको हो।
आगलागी सुरु भएपछि फेरीका कप्तानले तत्काल सम्बन्धित निकायलाई जानकारी गराएका थिए। घटनापछि उद्धार टोली परिचालन गरिएको छ भने यात्रुको उद्धार कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन्।
स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका भिडियोहरूमा केही यात्रु लाइफ ज्याकेट लगाएर लाइफबोटमा सुरक्षित हुने प्रयास गरिरहेको देखिन्छ। अन्य दृश्यहरूमा धुवाँ र आगोले घेरिएको फेरीबाट यात्रुहरू बाहिर निस्किरहेको देख्न सकिन्छ।
अधिकारीहरूले बेपत्ता यात्रुको खोजी जारी रहेको जनाउँदै आगलागीको कारणबारे अनुसन्धान सुरु गरिएको बताएका छन्।

