काठमाण्डौ । इरानसँगको युद्ध अन्त्यका लागि भइरहेको भनिएको वार्ताबारे फरक–फरक धारणा सार्वजनिक भइरहेका बेला अमेरिकी सेयर बजारले तीव्र वृद्धि गर्दै हालसम्मकै उच्च बिन्दु नजिक पुगेको छ।
सोमबार एसएन्डपी ५०० सूचक १.५ प्रतिशतले बढ्दै ७ हजार ६२०.९० अंकको यसअघिको रेकर्ड नजिक पुगेको छ। उक्त रेकर्ड गत जुन २ मा कायम भएको थियो।
त्यस्तै, प्रविधि कम्पनीहरूमा केन्द्रित नास्डक कम्पोजिट २.१ प्रतिशतले उकालो लागेको छ। यद्यपि यो अझै आफ्नो हालसम्मकै उच्च बिन्दु २७ हजार ९३.९० अंकभन्दा ४.३ प्रतिशत तल रहेको छ।
३० वटा ठूला अमेरिकी कम्पनीलाई समेट्ने डाउ जोन्स इन्डस्ट्रीयल एभरेज १.३ प्रतिशतले बढ्दै ५३ हजार १७८.४१ अंकको नयाँ उच्च विन्दुमा पुगेको छ।
बजार वृद्धिमा ठूला प्रविधि कम्पनीहरूको समूह ‘म्याग्निफिसेन्ट सेभेन’ अग्रस्थानमा रहेको थियो। एप्पलबाहेक अधिकांश प्रमुख प्रविधि कम्पनीको सेयर मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्म्सको सेयर ६ प्रतिशतले बढेको छ भने माइक्रोसफ्ट, अमेजन र अल्फाबेटको शेयर ४.४ देखि ४.९ प्रतिशतसम्म उकालो लागेको छ। चिप निर्माता एनभिडियाको सेयर २.९ प्रतिशत र विद्युतीय सवारी निर्माता टेस्लाको सेयर ३.५ प्रतिशतले बढेको छ।
यसैबीच, अन्तर्राष्ट्रिय तेल बजारको प्रमुख सूचक ब्रेन्ट क्रुडको मूल्य सोमबार करिब ५ प्रतिशतले घटेको थियो। मंगलबार एसियाली बजार खुलेपछि भने केही सुधार देखिएको छ। सेप्टेम्बर डेलिभरीका लागि ब्रेन्ट तेलको मूल्य प्रतिब्यारेल करिब ८४.५० अमेरिकी डलर पुगेको छ।
यता, एसियाली सेयर बजारमा भने मंगलबार गिरावट देखिएको छ। जापानको निक्केई २२५ र हङकङको ह्याङ सेङ सूचक दुवै ०.८ प्रतिशतले घटेका छन्। एआई प्रविधिमा प्रयोग हुने मेमोरी चिपको मागका कारण यस वर्ष तीव्र उतारचढाव देखिएको दक्षिण कोरियाको कोस्पी सूचक पनि १.२ प्रतिशतले घटेको छ।
बजारको पछिल्लो गतिविधि अमेरिका र इरानबीच जारी भनिएको संवादबारे दुवै पक्षबाट फरक धारणा सार्वजनिक भएपछि आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानसँग वार्ता भइरहेको र पुनः आक्रमण सुरु गर्नुअघि तेहरानलाई सम्झौता गर्ने अन्तिम अवसर दिन चाहेको बताएका थिए।
यसअघि ट्रम्पले खाडी क्षेत्रका नेताहरूसँग छलफलपछि दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो आक्रमण गर्ने योजना स्थगित गरेको बताएका थिए।
तर इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सोमबार नै अमेरिकासँग कुनै वार्ता भइरहेको नरहेको र अमेरिकी अधिकारीसँग कुनै भेटघाट तय नभएको बताएका छन्।
उनका अनुसार इरानी अधिकारीहरू हाल ओमानसँग होर्मुज जलडमरूमध्य हुँदै जहाज आवतजावत सहज बनाउने विषयमा छलफल गरिरहेका छन्। अमेरिका–इरानबीचका विषयहरू भने आगामी चरणको वार्तामा मात्र सम्बोधन हुने उनले बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।