काठमाण्डौ । सभामुख डोल प्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ ।
बैठकमा प्रतिनिधि सभाको आगामी संसद् क्यालेन्डर, संसद् बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषय तथा संसदीय कार्यप्रणालीलाई थप सुदृढ बनाउने उपायबारे विस्तृत छलफल भएको थियो ।
छलफलका क्रममा सांसदहरूले पालना गर्नुपर्ने आचरण, संसद् बैठकमा अपनाउनुपर्ने पोशाकसम्बन्धी व्यवस्था, कार्यसूची व्यवस्थापन, संसदीय गतिविधिलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउने उपाय तथा सदन सञ्चालनसँग सम्बन्धित समसामयिक विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए ।
बैठकमा संसद्को गरिमा, मर्यादा र प्रभावकारिता अभिवृद्धि गर्दै जनअपेक्षाअनुरूप संसदीय कार्यसम्पादन सुनिश्चित गर्न सबै राजनीतिक दलबीच निरन्तर संवाद, सहकार्य र समन्वयलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो ।
त्यसैगरी, संसद्को कार्यसम्पादनलाई थप प्रभावकारी, मर्यादित र जनउत्तरदायी बनाउन सबै पक्षले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्नेमा सहभागी सदस्यहरूले जोड दिएका थिए


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।