काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्नुपर्ने आफ्नो अभिव्यक्तिको चौतर्फी विरोध भएपछि त्यसबारे स्पष्टीकरण दिएका छन्।
ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूले सिंहदरबारको नाम परिवर्तनको विषय उठाउनुको पछाडिको सन्दर्भबारे स्पष्ट पार्न खोजेका छन्।
उनले सिंहदरबार निर्माणका क्रममा श्रमिकमाथि भएको शोषणको इतिहास आफूले पहिल्यैदेखि पढ्दै आएको उल्लेख गर्दै दरबारको नाम र त्यससँग जोडिएको ऐतिहासिक तथा राजनीतिक सन्दर्भबारे प्रश्न उठाएको बताएका छन्।
‘त्यो दरबारको स्वभाव–भाव भङ्गी नामजस्तै देखिने हुनुहुन्न भन्ने सन्दर्भ थियो, सत्यको लिगेसीको सन्दर्भ थियो,’ उनले लेखेका छन्।
ढकालले आफ्नो भनाइ हालैको परिवर्तनसँग मात्र सम्बन्धित नभएको दाबी गरेका छन्। विगतमा विभिन्न स्थानका नाम परिवर्तन गरिएको उदाहरण दिँदै त्यसै क्रममा सिंहदरबारको नाम पनि परिवर्तन गरी अर्को नाम राख्न सकिने धारणा आफूले राखेको उनको भनाइ छ।
आफ्नो अभिव्यक्तिको पूर्ण भिडियो धेरैले नहेरेको भन्दै उनले आफू कार्यक्रममा सहभागी भएका व्यक्तिहरू भने आफ्नो भनाइप्रति स्पष्ट रहेको उल्लेख गरेका छन्।
ढकालले सिंहको प्रतीकात्मक अर्थबारे आफ्नो धारणा पनि दोहोर्याएका छन्।
‘म मेरो तर्कमा अडिग छु, सिंह दया र करुणाको प्रतीक होइन। सिंह हिंस्रककै प्रतीक हो, घमण्डकै प्रतीक हो, शासककै प्रतीक हो,’ उनले लेखेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।