काठमाण्डौ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा दिउँसो बस्ने बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
यसैगरी, आज दुई वटा संसदीय समितिको बैठक पनि बस्दैछ। सचिवालयका अनुसार सार्वजनिक लेखा समिति तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने कार्यसूची रहेको छ।
सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा ‘२०८२ भदौ २३ र २४ गते भएको आन्दोलन तथा घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा’ छलफल गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ। बैठकमा डिजिटल अर्थतन्त्रका विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।