काठमाण्डौ । इटालियन लक्जरी कार निर्माता फेरारीको पहिलो पूर्ण विद्युतीय कार ‘लुचे’ को विशेष संस्करण ४ करोड अमेरिकी डलरमा बिक्री भएको छ। अमेरिकाको क्यालिफोर्नियामा आयोजित आरएम सोथबीको परोपकारी लिलामीमा बिक्री भएको यो कार लिलामीबाट बिक्री भएको नयाँ कारमध्ये सबैभन्दा महँगो बनेको छ।
लिलामीबाट प्राप्त सम्पूर्ण रकम फेरारी फाउन्डेसनका शैक्षिक कार्यक्रमहरूमा खर्च गरिने बताइएको छ। सोथबीका अनुसार बिक्री भएको कार लुचेको पहिलो उत्पादन चेसिस हो, जसमा विशेष बाहिरी फिनिस, कस्टमाइज्ड पार्ट्स, विशेष डिजाइनका पाङ्ग्रा तथा परिमार्जित ब्रेक प्रणाली राखिएको छ।
लुचे एप्पलका आईफोन डिजाइनरका रूपमा चर्चित सर जोनी आइभको डिजाइन अवधारणासँग जोडिएको परियोजना हो। गत मेमा सार्वजनिक हुँदा यसको डिजाइन र विद्युतीय प्रविधिलाई लिएर फेरारीका परम्परागत समर्थकबाट आलोचना भएको थियो। पाँच सिट भएको र पेट्रोल इन्जिनको सट्टा ब्याट्रीबाट चल्ने भएकाले यसले फेरारीको परम्परागत पहिचान कमजोर बनाउने टिप्पणीसमेत भएका थिए।
कार सार्वजनिक भएपछि फेरारीको सेयर मूल्यमा समेत गिरावट आएको थियो। इटालीका उपप्रधानमन्त्री माटेओ साल्भिनी तथा फेरारीका पूर्वअध्यक्ष लुका कोर्डेरो दी मोन्टेजेमोलोले पनि कारप्रति आलोचनात्मक धारणा व्यक्त गरेका थिए। मोन्टेजेमोलोले लुचेले फेरारीको विरासतलाई जोखिममा पार्न सक्ने बताएका थिए।
तर फेरारीका प्रमुख डिजाइन अधिकृत फ्लाभियो मान्जोनीले आलोचना पनि नयाँ प्रविधि र डिजाइनको विकास प्रक्रियाकै हिस्सा भएको बताएका छन्। उनले समयसँगै मानिसहरूले लुचेको डिजाइन र अवधारणालाई स्वीकार गर्ने विश्वास व्यक्त गरेका छन्।
फेरारीले लुचेको बिक्री लक्ष्य सार्वजनिक गरेको छैन। यद्यपि, फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार चीनबाट आएको बलियो मागका कारण कम्पनीले यस वर्षका लागि तय गरेको बिक्री लक्ष्य पूरा गरिसकेको छ।
लुचेको विशेष संस्करणको लिलामीलाई सोथबीले नवप्रवर्तन, सामाजिक उत्तरदायित्व र भावी पुस्ताप्रतिको दीर्घकालीन दृष्टिकोणको उदाहरणका रूपमा व्याख्या गरेको छ।
फेरारीका कारहरूले यसअघि पनि लिलामीमा उच्च मूल्य हासिल गर्दै आएका छन्। सन् २०२५ मा फेरारीको डेटोना एसपी३ को विशेष संस्करण २ करोड ६० लाख डलरमा बिक्री भएको थियो, जसले त्यतिबेला नयाँ कारको लिलामी मूल्यमा कीर्तिमान बनाएको थियो।
यद्यपि, सबैभन्दा महँगो कारको लिलामी मूल्यको समग्र कीर्तिमान भने सन् २०२२ मा १९५५ मर्सिडिज–बेन्ज ३०० एसएलआर उलेनहाउट कूपेले कायम गरेको छ। उक्त दुर्लभ कार १४ करोड २० लाख डलरमा बिक्री भएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।