काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले जनरल सेठलाई मानार्थ महारथीको दर्जाबाट सम्मान गरेका हुन्।
नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ। सोही परम्पराअनुसार भारतीय सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको हो।
तीनदिने नेपाल भ्रमणका लागि जनरल सेठ आइतबार अपराह्न काठमाडौं आइपुगेका थिए।
शीतल निवासमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार तथा नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू र नेपालका लागि भारतीय राजदूतको उपस्थिति रहेको थियो।
नेपाल र भारतबीचको सैन्य सम्बन्ध र परम्परागत सहकार्यको प्रतीकका रूपमा दुवै देशले एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्दै आएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।