काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले नेपालको पूँजीबजारमा नयाँ–नयाँ प्रडक्ट तथा उपकरण भित्र्याएर बजारमा उत्साह ल्याउनुपर्नेमा जोड दिएका छन् ।
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको आयोजनामा भदौ ३ गते आयोजित नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर्स एसोसिएसनबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले पूँजीबजारको विकासका लागि नयाँ प्रडक्ट ल्याउनु आवश्यक रहेको बताएका हुन् ।
अध्यक्ष भट्टले सेबोनले अब क्यास तथा क्रेडिट कारोबारसम्बन्धी नीति अवलम्बन गर्ने तयारी गरिरहेको जानकारी दिँदै आगामी दिनमा सञ्चालनमा आउने मार्जिन कारोबारले हालको क्रेडिट कारोबारलाई थप व्यवस्थित र सुधार गर्ने बताए ।
उनले पूँजीबजारसँग सम्बन्धित विभिन्न मार्गदर्शन जारी गर्ने तयारी भइरहेको समेत जानकारी दिए । प्रस्तावित मार्गदर्शनमा लगानीकर्ताको हित संरक्षण, जोखिममा आधारित नियमन तथा पूँजीबजारमा संस्थागत सुशासन कायम गर्ने विषयलाई प्राथमिकता दिइने उनको भनाइ थियो । अध्यक्ष भट्टले प्राथमिक तथा दोस्रो बजार दुवैमा आवश्यक सुधार गर्दै बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिए ।
कार्यक्रमको अध्यक्षता गरेका स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले नेपाल धितोपत्र बोर्डमा रहेका दुई दशकभन्दा पुराना ऐन तथा कानुनलाई समयअनुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याए ।
अध्यक्ष ढकालले सेबोनमा नयाँ नेतृत्व आएपछि आफूहरूले अपेक्षा गरेभन्दा बढी काम भएको बताए । उनले लगानीकर्ता तथा बजारका सहभागीलाई थप सहज बनाउन ‘अटो ईडीआईएस’को व्यवस्था ल्याउन समेत सेबोनलाई सुझाव दिए ।
कार्यक्रममा संघका उपाध्यक्ष नितेश कुमार अग्रवालले पूँजीबजार विकाससम्बन्धी मार्गचित्र प्रस्तुत गरेका थिए । उनले पूँजीबजारको दीर्घकालीन विकासका लागि आवश्यक सुधार तथा प्राथमिकताका विषयहरूबारे धारणा राखेका थिए ।
कार्यक्रमको समापन गर्दै नेपाल उद्योग वाणिज्य महासंघको पूँजीबजार फोरमका सभापति तथा पूर्वअध्यक्ष प्रियराज रेग्मीले सेबोन अध्यक्ष भट्टले व्यक्त गरेका विचारलाई सबै सरोकारवालाले आत्मसात् गर्दै सोहीअनुसार अघि बढ्नुपर्ने बताए ।
उनले पूँजीबजारको सबैभन्दा महत्वपूर्ण आधार लगानीकर्ता र उनीहरूको विश्वास रहेको उल्लेख गर्दै बजारप्रतिको विश्वास कायम राख्न नियामक, ब्रोकर तथा अन्य सरोकारवालाले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । रेग्मीले ब्रोकर व्यवसायलाई अब आधुनिक, व्यवस्थित र सम्मानित व्यवसायका रूपमा विकास गर्नुपर्ने धारणा समेत राखे ।
अन्तरक्रिया कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्षसहित सम्पूर्ण व्यवस्थापन टोली तथा ८० भन्दा बढी ब्रोकर कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव भक्तिराम घिमिरेले गरेका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।