काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट कटौती नगरेको स्पष्ट पारेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा अर्थमन्त्री वाग्लेले स्वास्थ्य बीमाका लागि सरकारले निरन्तर बजेट बढाउँदै आएको बताएका हुन् ।
कार्यक्रममा सहभागी नागरिकले स्वास्थ्य बीमाप्रति सरकारको धारणा र बजेट व्यवस्थाबारे राखेका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गत वर्षको तुलनामा यस वर्ष स्वास्थ्य बीमाको बजेट ५ अर्ब रुपैयाँले वृद्धि गरिएको जानकारी दिए ।
वाग्लेका अनुसार अघिल्लो सरकारले गत वर्ष स्वास्थ्य बीमाका लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त रकम पर्याप्त नभएपछि आफू अर्थमन्त्री भएपछि थप ११ अर्ब रुपैयाँ बजेट व्यवस्था गरिएको उनले बताए ।
‘गत वर्ष स्वास्थ्य बीमामा अघिल्लो सरकारले १० अर्ब बजेट छुट्याएको थियो । तर, त्यसले नपुगेर म मन्त्री भएर आएपछि ११ अर्ब थप गरेको हुँ’ उनले भने ।
वाग्लेले चालु वर्षको बजेटमा पनि स्वास्थ्य बीमाका लागि थप ५ अर्ब रुपैयाँ वृद्धि गरी कुल १५ अर्ब रुपैयाँ विनियोजन गरिएको स्पष्ट पारे ।
स्वास्थ्य बीमामा सरकारको वित्तीय दायित्व निरन्तर बढिरहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले सरकारले गरेको लगानीअनुसार नागरिकले पर्याप्त सेवा पाइरहेका छन् कि छैनन् भन्ने विषयमा भने अध्ययन र समीक्षा आवश्यक रहेको बताए ।
सरकारी अस्पतालहरूमा स्वास्थ्य बीमा कार्यक्रम निरन्तर सञ्चालनमा रहेको जानकारी दिँदै अर्थमन्त्री वाग्लेले कार्यक्रमलाई थप प्रभावकारी र परिणाममुखी बनाउन सरकारले अध्ययन गरिरहेको पनि स्पष्ट पारे ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।