काठमाण्डौ । इरानले दक्षिणी फार्स प्रान्तमा २०० अर्ब घनमिटरभन्दा बढी प्राकृतिक ग्यास भण्डार रहेको नयाँ ग्यास क्षेत्र पत्ता लगाएको घोषणा गरेको छ। इरानका तेलमन्त्री मोहसेन पाकनेजादले राज्य टेलिभिजनमार्फत उक्त जानकारी दिएका हुन्।
मन्त्री पाकनेजादका अनुसार नयाँ ग्यास क्षेत्रबाट करिब १६० अर्ब घनमिटरभन्दा बढी प्राकृतिक ग्यास व्यावसायिक रूपमा निकाल्न सकिने अनुमान गरिएको छ। उनका अनुसार यहाँ पाइने ग्यास ‘स्विट ग्यास’ अर्थात् विषाक्त हाइड्रोजन सल्फाइडको मात्रा निकै कम भएको प्राकृतिक ग्यास हो।
हाइड्रोजन सल्फाइडको मात्रा न्यून रहेकाले ग्यास क्षेत्रको विकास तथा सञ्चालन लागत तुलनात्मक रूपमा कम हुने पाकनेजादले बताएका छन्। यद्यपि नयाँ क्षेत्रबाट व्यावसायिक उत्पादन सुरु हुन अझै केही वर्ष लाग्न सक्ने ब्लुमबर्गलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यो घोषणा मध्यपूर्वमा जारी युद्धका कारण इरानको ऊर्जा पूर्वाधार र उत्पादन प्रणाली प्रभावित भइरहेका बेला आएको हो। पछिल्लो द्वन्द्वका क्रममा इरानका ग्यास उत्पादन केन्द्र, तेल भण्डारणस्थल तथा ऊर्जा आपूर्ति गर्ने यातायात मार्गहरू समेत प्रभावित भएको रिपोर्टहरूमा उल्लेख छ।
नयाँ ग्यास भण्डारको खोजीले इरानको दीर्घकालीन उर्जा उत्पादन क्षमता विस्तार गर्न तथा देशको प्राकृतिक ग्यास आपूर्तिमा थप योगदान पुर्याउन सक्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।