काठमाण्डौ । रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल बीमक संघले दुःख व्यक्त गरेको छ।
संघले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा बाढीबाट प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गरेको छ।
बाढीका कारण नागरिक तथा व्यवसायीका घर तथा भवन, सवारीसाधन, उद्योग–व्यवसाय र अन्य सम्पत्तिमा पुगेको क्षतिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विपद्को यस कठिन अवस्थामा बीमा क्षेत्र प्रभावित बीमित तथा सर्वसाधारणको साथमा रहेको संघले स्पष्ट पारेको छ।
संघले बीमा गरिएका घर, भवन, सवारीसाधन, व्यवसाय वा अन्य सम्पत्तिमा क्षति पुगेका बीमितलाई यथाशीघ्र सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गरी दाबी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
त्यस्तै, प्रभावित बीमितलाई दाबी प्रक्रियामा आवश्यक सहजीकरण र सहयोग उपलब्ध गराउन सम्बन्धित बीमा कम्पनीहरूलाई पनि संघले अनुरोध गरेको छ।
क्षतिग्रस्त बीमित सम्पत्तिको यथाशीघ्र मूल्यांकन गरी दाबी फछ्र्योट प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक समन्वय गर्ने संघले जनाएको छ।
नेपाल बीमक संघले विपद्को यस दुःखद घडीमा प्रभावित नागरिक तथा व्यवसायीको साथमा रहने प्रतिबद्धता दोहोर्याउँदै बीमितलाई आवश्यक सहयोगका लागि सम्बन्धित बीमा कम्पनीसँग तत्काल सम्पर्क गर्न आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।