बिहीबार, भाद्र ११,२०८३ 04:20:03
Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 04:20:03
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा

देवघाटबाट बग्यो ५ करोड ७४ लाख घनमिटर पानी, ९ः०५ मा रसुवा छिरेको बाढी ३ः२० मा देवघाट

भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा
New Office

काठमाडौं। तिब्बततर्फबाट भोटेकोशी नदीमा प्रवेश गरेको बाढी करिब ६ घण्टामै रसुवा, नुवाकोट, धादिङ र चितवन हुँदै देवघाटसम्म पुगेको सरकारी अध्ययनले देखाएको छ। बाढीको मूल लहरसँगै त्रिशूली–नारायणी नदी प्रणालीबाट सामान्य बहावभन्दा करिब १ करोड ९६ लाख ६५ हजार ६०० घनमिटर अतिरिक्त पानी बगेको प्रारम्भिक प्राविधिक विश्लेषण छ।

जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले तयार पारेको ‘२०८३ भोटेकोशी–त्रिशूली–नारायणी बाढीसम्बन्धी प्राविधिक प्रतिवेदन’ले बाढीको यात्रा, बहावको आकार, पूर्वसूचना प्रणाली र बाँकी जोखिमको विस्तृत चित्र प्रस्तुत गरेको हो।

प्रतिवेदनअनुसार भदौ १० गते बिहान ९ बजेर ५ मिनेटमा तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेको सूचना प्राप्त भएको थियो। त्यसको १० मिनेटपछि अर्थात् ९ बजेर १५ मिनेटदेखि नै बाढी पूर्वानुमान महाशाखाले जलसतह र बहावको सम्भावित यात्राका आधारमा नदी तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना पठाउन थालेको थियो।

बाढी बिहान १० बजेर २८ मिनेटमा धादिङको गल्छी आसपास, ११ बजेर ५० मिनेटमा मलेखु बजार, दिउँसो १ बजे मुग्लिन र ३ बजेर २० मिनेटमा नारायणी–देवघाट क्षेत्रमा पुगेको प्रतिवेदनमा उल्लेख छ। यसरी भोटेकोशीमा ठूलो बाढी प्रवेश गरेको सूचना प्राप्त भएको समयदेखि देवघाट पुग्दासम्म करिब ६ घण्टा १५ मिनेट लागेको देखिन्छ।

Bizshala
CG Motors

देवघाटमा बहाव एकैपटक दोब्बरभन्दा बढी

चितवनको देवघाटस्थित त्रिशूली नदीको जलमापन तथ्यांकअनुसार दिउँसो २ बजेर १० मिनेटदेखि साँझ ६ बजेसम्म नदीको बहाव उल्लेख्य रूपमा बढेको थियो। दिउँसो ४ बजे बहाव प्रतिसेकेन्ड ५ हजार ८५० घनमिटरको उच्चतम बिन्दुमा पुगेको प्रतिवेदनले देखाएको छ।

महाशाखाले प्रतिसेकेन्ड २ हजार ६०० घनमिटरलाई सामान्य आधार बहाव मानेर गणना गरेको छ। सो अवधिमा देवघाटबाट बगेको कुल पानीको अनुमानित आयतन करिब ५ करोड ७४ लाख घनमिटर थियो। त्यसमध्ये सामान्य बहावभन्दा बढी बाढीजन्य पानीको आयतन करिब १ करोड ९६ लाख ६५ हजार ६०० घनमिटर रहेको प्राविधिक हिसाब छ।

यो परिमाणले भोटेकोशीबाट प्रवेश गरेको बाढी त्रिशूली हुँदै तल्लो तटीय क्षेत्रमा पुग्दा कति ठूलो पानीको मात्रा प्रवाह भएको थियो भन्ने देखाउँछ।

प्रतिवेदनअनुसार देवघाटमा जलसतह प्रारम्भिक रूपमा करिब ८ मिटरसम्म पुग्न सक्ने अनुमान गरिएको थियो। तर, पछिल्लो मापनमा जलसतह ६.५७ मिटरसम्म पुगेको थियो। महाशाखाले यो अवस्था ठूलो पुनरावृत्ति अवधिको चरम बाढीभन्दा करिब दुईदेखि तीन वर्षको पुनरावृत्ति अवधिमा देखिने बाढीको स्तरमा रहेको प्रारम्भिक आकलन गरेको छ।

फुर्केमा पुलसहित बाढी मापन केन्द्र बगायो

बाढीको लहर नुवाकोट–धादिङ क्षेत्रमा प्रवेश गरेपछि विभिन्न जलमापन केन्द्रले क्रमशः सतर्कता र खतरा तह पार गरेका थिए।

फुर्के (मलेखु) जलमापन केन्द्रमा बिहान ११ बजेर २६ मिनेटमा जलसतहले सतर्कता तह पार गरेको थियो। ११ बजेर ४३ मिनेटमा खतरा तह पार गरेलगत्तै फुर्के खोला केन्द्र पुलसहित बाढीले बगाएको प्रतिवेदनमा उल्लेख छ।

कालीखोला जलमापन केन्द्रमा दिउँसो २ बजेर १४ मिनेटमा जलसतहले १२.१ मिटरको खतरा तह पार गरेको थियो। त्यहाँ अधिकतम जलसतह १२.३ मिटर मापन भएको थियो।

यस्तै, दिउँसो १ बजेर २० मिनेटमा चितवन–देवघाट बाढी मापन केन्द्रमा जलसतह ४.७६ मिटर पुगेको थियो। प्रारम्भिक आकलनमा जलसतह करिब ३ मिटर बढेर ८ मिटरसम्म पुग्न सक्ने अनुमान गरिएको थियो।

देवघाटमा दिउँसो ४ बजे जलसतह ६.५७ मिटरको उच्चतम बिन्दुमा पुगेपछि घट्न थालेको थियो। साँझ ६ बजेर ३० मिनेटसम्म बहाव सामान्य अवस्थातर्फ फर्किएर करिब ४ मिटरमा झरेको प्रतिवेदनले जनाएको छ।

तिब्बतदेखि देवघाटसम्म १६८ किलोमिटरको बाढी यात्रा

प्राविधिक प्रतिवेदनले तिब्बत–नेपाल सीमादेखि देवघाटसम्मको नदी दूरी १६८ किलोमिटर देखाएको छ। सीमाबाट करिब ९ किलोमिटर तल रसुवागढीस्थित भोटेकोशी जलमापन केन्द्र छ। त्यहाँबाट ३६ किलोमिटर तल बेत्रावती र त्यसपछि ५६ किलोमिटर तल फुर्के जलमापन क्षेत्र पर्छ।

फुर्केबाट ३६ किलोमिटर तल कालीखोला, त्यहाँबाट १३ किलोमिटर तल भोर्ले र भोर्लेबाट थप १८ किलोमिटर तल नारायणी–देवघाट क्षेत्र रहेको छ।

बाढीको मुख्य लहर भोटेकोशीबाट त्रिशूलीमा मिसिएर क्रमशः धादिङ–गल्छी, मलेखु, मुग्लिन हुँदै नारायणी–देवघाट पुगेको तथ्यांकले देखाउँछ।

करिब ७ लाख एसएमएस पठाइयो

महाशाखाले बाढी प्रवेश गरेको सूचना पाएलगत्तै रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रका नागरिकलाई एसएमएसमार्फत पूर्वसूचना पठाएको थियो।

प्रतिवेदनअनुसार नेपाल टेलिकममार्फत ४ लाख ३५ हजार ६३५ र एनसेलमार्फत २ लाख ४३ हजार ६६० गरी कुल ६ लाख ७९ हजार २९५ वटा एसएमएस पठाइएको थियो।

बाढी पूर्वानुमान महाशाखाले घटनाका क्रममा सर्वसाधारणबाट १४७ वटा फोन प्राप्त गरेको, तीनवटा भिडियो अन्तर्वार्ता, दुईवटा फेसबुक लाइभ, ११ वटा फेसबुक पोस्ट र फोन तथा प्रत्यक्ष प्रसारणमार्फत ३० वटा सञ्चारमाध्यमसँग अन्तर्वार्ता गरेको उल्लेख छ।

प्रारम्भिक चरणमै त्रिशूली नदीको तटीय क्षेत्रदेखि मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको थियो। पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडकखण्ड तथा त्रिशूली आसपासका बस्ती र बजार क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान सूचना प्रवाह गरिएको थियो।

बाढीको लहर देवघाटतर्फ अघि बढेपछि देवघाटसम्मका तटीय क्षेत्रका बासिन्दालाई समेत सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो। महाशाखाका अनुसार समयमा प्रवाह गरिएको पूर्वसूचनाका आधारमा थप नागरिकले आफ्नो ज्यान जोगाउन सफल भएका थिए।

जोखिम भने अझै टरेको छैन

मुख्य बाढी लहर देवघाट पार गरेर बहाव सामान्यतर्फ फर्किए पनि माथिल्लो भोटेकोशी क्षेत्रमा जोखिम पूर्णरूपमा समाप्त नभएको प्रतिवेदनको निष्कर्ष छ।

चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्णरूपमा नखुलेको जानकारी प्राप्त भएको छ। तालमा रोकिएको पानी थप निस्किएमा माथिल्लो भोटेकोशी क्षेत्रमा फेरि बहाव बढ्न सक्ने सम्भावना कायम छ।

त्यसमाथि वर्षाको सम्भावना पनि रहेकाले नदीको जलसतह बढ्न सक्ने, स्थानीय भू–आकृति तथा नदी किनारका तल्ला भूभागमा पानी पस्न सक्ने जोखिम रहेको महाशाखाले जनाएको छ। चितवन तथा नवलपरासी क्षेत्रमा ठूलो स्तरको डुबानको सम्भावना कम देखिए पनि नदी किनारका होचा भूभागमा पानी पस्न सक्ने चेतावनी दिइएको छ।

महाशाखाले भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीका प्रमुख जलमापन केन्द्रमा वास्तविक समयमा निरन्तर अनुगमन गर्न, चीनतर्फ थुनिएको नदी र तालको अवस्थाबारे नियमित सूचना लिन तथा देवघाटसहित तल्लो तटीय क्षेत्रमा बाढीको प्रभाव मूल्यांकन जारी राख्न सिफारिस गरेको छ।

नदी किनार र सम्भावित डुबान क्षेत्रमा रहेका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन तथा सुरक्षित अग्लो स्थानमा रहन आग्रह गरिएको छ। घटनाको कारण र प्रभावबारे थप प्राविधिक अध्ययन गरी नियमित अद्यावधिक सार्वजनिक गर्नुपर्ने प्रतिवेदनको निष्कर्ष छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.