काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले रसुवा र नुवाकोटसहित देशका विभिन्न क्षेत्रमा देखिएको पछिल्लो मौसम तथा बाढीको सम्भावित जोखिमबारे जल तथा मौसम विज्ञान विभाग र जल विज्ञान तथा स्रोत अनुसन्धान केन्द्रका अधिकारीहरूसँग छलफल गरेका छन् ।
छलफलका क्रममा मन्त्री श्रेष्ठले विशेषगरी रसुवा र नुवाकोट क्षेत्रमा मौसमको वर्तमान अवस्था, वर्षाको सम्भावना, नदी तथा खोलानालाको जलस्तर र बाढीको पूर्वानुमानबारे जानकारी लिएका थिए । जोखिमयुक्त क्षेत्रमा जारी उद्धार तथा राहत कार्यलाई मौसमको अवस्थाअनुसार थप सुरक्षित र प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा समेत मन्त्री श्रेष्ठले अधिकारीहरूसँग परामर्श गरेका थिए ।
मौसम तथा जलविज्ञानसम्बन्धी अधिकारीहरूले तत्काल ठूलो जोखिमको अवस्था नरहे पनि जोखिमपूर्ण रूपमा टरिनसकेको भन्दै उद्धार कार्यमा उच्च सतर्कता अपनाउन सुझाव दिएका छन् ।
मौसममा हुन सक्ने आकस्मिक परिवर्तनलाई निरन्तर निगरानीमा राख्दै पूर्वसूचनाका आधारमा उद्धार तथा अन्य मानवीय गतिविधि सञ्चालन गर्नुपर्ने उनीहरूको भनाइ छ ।
अधिकारीहरूले आफूहरू हाइ अलर्टमा रहेर मौसम, वर्षा र नदीको जलस्तरसम्बन्धी तथ्यांक निरन्तर विश्लेषण गरिरहेको जानकारी मन्त्री श्रेष्ठलाई दिएका छन् । सम्भावित जोखिम न्यूनीकरणका लागि तल्लो तटीय तथा संवेदनशील क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समयमै सूचना प्रवाह गर्न कामसमेत भइरहेको उनीहरूले बताएका छन् ।
मन्त्री श्रेष्ठले मौसम तथा जलविज्ञानसम्बन्धी पूर्वसूचनालाई उद्धार र जोखिम व्यवस्थापनसँग प्रभावकारी रूपमा जोड्दै सम्भावित क्षति न्यूनीकरणमा सबै निकायबीच निरन्तर समन्वय आवश्यक रहेकोमा जोड दिएका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।