काठमाण्डौ । चलचित्र ‘पार्वती’ ले प्रदर्शनको पहिलो दिनको ग्रस कलेक्सनबाट निर्माताको हिस्सामा आएको ११ लाख ३ हजार २ सय ७० रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गरेको छ।
चलचित्रकी निर्देशक तथा कलाकार नीता ढुंगाना अधिकारीका अनुसार उक्त रकम आज अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो।
चलचित्र टिमले यसअघि गरेको घोषणाअनुसार पहिलो दिनको कमाइबाट निर्माताको हिस्सामा आएको रकममध्ये उक्त रकम विपद् प्रभावितका लागि सहयोग गरिएको जनाएको छ।
टिमले दर्शकको साथ र मायाका कारण सहयोग सम्भव भएको भन्दै यसलाई ‘पार्वती’ टिमको मात्रै नभई चलचित्रलाई माया गर्ने सम्पूर्ण दर्शकको योगदानका रूपमा लिएको जनाएको छ।
यसैबीच, ‘पार्वती’ टिमले बाढीपहिरोबाट प्रभावित नागरिकका लागि थप सहयोग गर्ने घोषणा गरेको छ। चलचित्रले देश तथा विदेशमा सम्पूर्ण प्रदर्शन अवधिभर गर्ने कुल ग्रस आम्दानीको ५ प्रतिशत रकम बाढीपीडितको राहतका लागि सहयोग गर्ने जनाएको छ।
निर्देशक तथा कलाकार नीता ढुंगाना अधिकारीले दुःखमा परेका नागरिकको आँसु पुछ्ने दायित्व सबैको भएको बताउँदै राहत अभियानमा सहभागी हुन दर्शकलाई आह्वान गरेकी छन्।
‘पार्वती’लाई समाजको भोगाइ, संघर्ष, हिम्मत र आशाको कथा प्रस्तुत गर्ने चलचित्रका रूपमा निर्माण गरिएको टिमको भनाइ छ। चलचित्र टिमले आफ्नो चलचित्र हेर्न हलसम्म पुग्ने दर्शकलाई विपद् प्रभावितका लागि गरिएको सहयोग अभियानमा जोडिएको भन्दै धन्यवादसमेत व्यक्त गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।