काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढी रसुवा, नुवाकोट र धादिङका नागरिकको मात्रै पीडा नभई सम्पूर्ण नेपालीको साझा दुःख भएको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीले क्षणभरमै धेरै परिवारबाट आमाबुबा, दाजुभाइ तथा दिदीबहिनी खोसेर लगेको भन्दै गहिरो दुःख व्यक्त गरे।
‘भोटेकोशीमा आएको बाढीले क्षणभरमै आमाबुबा, दाजुभाइ र दिदीबहिनी खोसेर लग्यो,’ प्रधानमन्त्री शाहले भने, ‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन, सम्पूर्ण नेपालीको छातीमा परेको पीडा हो।’
उनले विपद्को कठिन घडीमा सरकार जिम्मेवारीबाट पछि नहट्ने स्पष्ट पारे। प्राकृतिक प्रकोपसँग जुध्नुको विकल्प नभएको उल्लेख गर्दै उनले सरकार खोज, उद्धार, राहत तथा पुनर्स्थापनाको काममा निरन्तर खटिएको बताए।
‘यो विपद्सँग लड्नुको हामीसँग विकल्प थिएन, हामी लडिरहेका छौँ,’ उनले संसदमा भने।
प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहतका काम तीव्र पारिएको जानकारी दिँदै क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि पनि सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताए।
उनले विपद्को समय राजनीतिक आरोप–प्रत्यारोपभन्दा माथि उठेर साझा संकटको सामना गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री शाहले सबै राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणलाई एकताबद्ध भएर बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा साथ दिन आग्रह गरे।
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनर्निर्माणका काम जारी रहेका बेला प्रधानमन्त्री शाहले पहिलोपटक प्रतिनिधिसभामार्फत विपद्बारे विस्तृत धारणा राखेका हुन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।