काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किएलगत्तै राष्ट्रपति पौडेलले राष्ट्रलाई सम्बोधन गर्न लागेका हुन्।
उनको सम्बोधन नेपाल टेलिभिजनमार्फत प्रसारण हुनेछ।
राष्ट्रपति पौडेल सोमबार भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा पुगेका थिए। स्थलगत अवलोकनका क्रममा उनले बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, खोज तथा उद्धारको अवस्था र प्रभावित क्षेत्रमा देखिएको संकटबारे नेपाली सेना तथा सम्बन्धित अधिकारीहरूसँग जानकारी लिएका थिए।
भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ।
उपलब्ध विवरणअनुसार बाढीमा परी हालसम्म १ हजार ३५५ जनाको मृत्यु भइसकेको छ भने ४ हजार ९९६ जना अझै बेपत्ता छन्।
विपद्पछि खोजी, उद्धार, राहत र पुनर्स्थापनाका काम जारी रहेका बेला राष्ट्रपतिले प्रभावित क्षेत्रको प्रत्यक्ष अवलोकनपछि राष्ट्रका नाममा गर्न लागेको सम्बोधनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
सम्बोधनमा पछिल्लो विपद्बाट भएको क्षति, पीडित परिवारप्रति समवेदना, उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी र स्वयंसेवकप्रति सम्मान तथा पुनर्स्थापना र पुनर्निर्माणसम्बन्धी विषय समेटिन सक्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।