काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई अहिले सबैभन्दा बढी राज्यको साथ, भरोसा र संवेदनशीलता आवश्यक रहेको बताएका छन्।
रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा नभई समस्या समाधानका महत्वपूर्ण सङ्केतका रूपमा लिन सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरे।
उनले बेपत्ताको खोजी तथा उद्धार कार्य कठिन भौगोलिक अवस्थाका कारण रोकिन वा परित्याग हुन नहुनेमा जोड दिए।
राष्ट्रपति पौडेलले उद्धार गरिएका नागरिकलाई खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, औषधोपचार र मनोसामाजिक सेवा सुनिश्चित गर्नुपर्ने बताए। बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा अन्य जोखिममा रहेका नागरिकको विशेष संरक्षण आवश्यक रहेको उनको भनाइ छ।
मृतकको पहिचान अत्यन्त सावधानी र संवेदनशीलताका साथ गर्नुपर्ने उल्लेख गर्दै आवश्यक परे डीएनए नमुना तथा अभिलेख सुरक्षित राखेर पहिचान प्रक्रिया व्यवस्थित बनाउन उनले आग्रह गरे।
राष्ट्रपति पौडेलले विपद्को यो घडी एकअर्कालाई दोषारोपण गर्ने समय नभएको भन्दै सरकार, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज र सम्पूर्ण नागरिकलाई राष्ट्रिय एकताका साथ उद्धार, पुनःस्थापना, पुनर्निर्माण र आर्थिक पुनरुत्थानमा जुट्न आह्वान गरे।
उनले भोटेकोशी बाढीले नेपालको हिमाली पर्यावरणको नाजुक अवस्था र जलवायु परिवर्तनको बढ्दो जोखिम पुनः उजागर गरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायलाई नेपालजस्ता प्रभावित मुलुकका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस कदम चाल्न पनि आग्रह गरे।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।