सोमबार, भाद्र २२,२०८३ 06:18:34
Bizshala
  • सोमबार, भाद्र २२,२०८३ 06:18:34
Bizshala
Global IME Bank Limited

उद्धारमा प्राविधिक कठिनाइ बढेपछि नेपालले माग्यो थप अत्याधुनिक उपकरण

उच्च क्षमताका ड्रोन, लाइडर, टनेल रेस्क्यु सुटदेखि बेली ब्रिज र डीएनए किटसम्म सहयोगको अपिल

उद्धारमा प्राविधिक कठिनाइ बढेपछि नेपालले माग्यो थप अत्याधुनिक उपकरण
New Office

 

काठमाण्डौ । भोटेकोशी–त्रिशूली बाढीपछि खोज तथा उद्धार कार्य झन् जटिल बन्दै गएपछि नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसँग थप अत्याधुनिक उपकरण र विशेष प्राविधिक सामग्री मागेको छ।

विशेषगरी जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाहरूको खोजी, बाक्लो लेदो र पानीले भरिएका क्षेत्रमा प्रवेश तथा पहिरोग्रस्त भूभागको स्क्यानिङमा नेपालको आफ्नै प्राविधिक क्षमता अपर्याप्त देखिएपछि सरकारले मित्रराष्ट्र तथा विदेशी नियोगसँग सहयोगको अपिल गरेको हो।

परराष्ट्र मन्त्रालयका अनुसार सरकारले उच्च क्षमताका ड्रोन, लाइडर, मड/टनेल रेस्क्यु सुट, उच्च क्षमताका पम्प, बेली ब्रिज, डीएनए परीक्षण किट र ल्याब फ्रिजर माग गरेको छ।

उच्च जोखिमयुक्त भूभाग, पहिरोग्रस्त क्षेत्र र सुरुङभित्रको अवस्थाको स्क्यानिङ गरी बेपत्ताको सम्भावित स्थान पहिचान गर्न ड्रोन र लाइडर प्रविधि आवश्यक देखिएको मन्त्रालयले जनाएको छ।

यस्तै, बाक्लो लेदो र सुरुङभित्र प्रवेश गरेर खोज तथा उद्धार गर्न विशेष प्रकारका ‘मड/टनेल रेस्क्यु सुट’ आवश्यक परेको छ। सुरुङ र डुबान क्षेत्रमा जमेको पानी तथा लेदो तत्काल हटाउन उच्च क्षमताका पम्पसमेत माग गरिएको छ।

बाढीले क्षतिग्रस्त पुलहरूको विकल्पमा तत्काल सडक सञ्जाल पुनः सञ्चालन गर्न बेली ब्रिज तथा मृतकको पहिचानलाई छिटो र विश्वसनीय बनाउन डीएनए परीक्षण किट र ल्याब फ्रिजरसमेत आवश्यक रहेको सरकारको भनाइ छ।

विपद्पछि प्रभावित क्षेत्रमा सरुवा रोग तथा महामारी फैलिन सक्ने जोखिमलाई ध्यानमा राखेर सरकारले आवश्यक स्वास्थ्य तथा चिकित्सकीय सामग्रीका लागि समेत अन्तर्राष्ट्रिय सहयोग मागेको छ।

सरकारका अनुसार सुरुङभित्र अझै मानिस फसेको आशंकामा खोजी जारी छ। बाक्लो लेदो र कमजोर संरचनाका कारण म्यानुअल उद्धार अत्यन्त जोखिमपूर्ण बनेकाले टनेल रेस्क्यु सुट र लाइडरजस्ता प्रविधि तत्काल प्राथमिकतामा परेका हुन्।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

पाँच देशका विशेष टनेल उद्धार टोली परिचालित

परराष्ट्र मन्त्रालयका अनुसार भारत, चीन, दक्षिण कोरिया, यूएई र मलेसियाका विशेष टनेल उद्धार टोली नेपाली सेनाको समन्वयमा परिचालित छन्।

यी टोलीले प्रभावित जलविद्युत् आयोजनाका सुरुङ र कठिन पहुँच भएका क्षेत्रमा नेपाली उद्धारकर्मीसँग मिलेर काम गरिरहेका छन्।

माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ए, माथिल्लो त्रिशूली–३बी, चिलिमे, रसुवागढी र लाङटाङलगायत प्रभावित आयोजनामा खोज तथा उद्धारलाई उच्च प्राथमिकता दिइएको छ।

ती क्षेत्रमा थप प्राविधिक जनशक्ति, ड्रोन, भार बोक्ने उपकरण तथा विशेष उद्धार सामग्री परिचालन गरिँदैछ।

शव पहिचानमा पाँच देशका फरेन्सिक टोली

बेपत्ता व्यक्तिको खोजी र फेला परेका शवको पहिचानका लागि भारत, चीन, जापान, सिङ्गापुर र दक्षिण कोरियाका फरेन्सिक टोली नेपाल प्रहरीसँग समन्वयमा काम गरिरहेका छन्।

उनीहरूले डीएनए नमुना सङ्कलन, परीक्षण र विश्लेषणको काममा सहयोग गरिरहेको मन्त्रालयले जनाएको छ।

भोटेकोशी बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता भएको र कतिपय शव पहिचान गर्न कठिन भएपछि फरेन्सिक सहयोगको आवश्यकता बढेको हो।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालले विपद् प्रतिकार्यका लागि विश्वका विभिन्न देशका समकक्षीसँग निरन्तर संवाद गरिरहेका छन्।

सरकारको पछिल्लो आग्रहले विपद्को प्रारम्भिक उद्धार चरणबाट अब उच्च प्रविधिमा आधारित खोज, सुरुङ उद्धार, शव पहिचान र पूर्वाधार पुनःसञ्चालनतर्फ अभियान केन्द्रित हुँदै गएको संकेत गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.