काठमाण्डौ । काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा स्त्रीरोगको निःशुल्क परीक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
महानगरको वडा नं. २७ ले आउँदो असोज १७ गते शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो। शिविर सञ्चालनका लागि वडाले निजामती कर्मचारी अस्पतालसँग सम्झौता गरिसकेको छ।
वडाले ‘वडाको अग्रसरतामा क्यान्सरमुक्त टोल, क्यान्सरमुक्त समुदाय तथा क्यान्सरमुक्त वडा’ भन्ने अवधारणासहित कार्यक्रम अघि बढाएको छ। महानगरपालिकाले यसलाई क्रमशः अन्य वडामा पनि विस्तार गर्ने तयारी गरेको जनाएको छ।
सम्झौतापछि कार्यवाहक प्रमुख सुनिता डङ्गोलले महिलामा क्यान्सरको लक्षण देखिनुअघि नै सम्भावित जोखिम पहिचान गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताइन्। उनका अनुसार सहरी क्षेत्रका धेरै नागरिकमा रोग लाग्नुअघि नियमित परीक्षण गराउने अभ्यास अझै कमजोर रहेकाले टोलमै पुगेर सेवा उपलब्ध गराउन खोजिएको हो।
वडाध्यक्ष योगेश खड्गीले घरदैलोमै सञ्चालन हुने शिविरबाट धेरै महिला लाभान्वित हुने विश्वास व्यक्त गरेका छन्।
निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक डा. जितेन्द्र परियारका अनुसार प्रारम्भिक परीक्षणका क्रममा जटिल समस्या देखिएमा थप परीक्षण र उपचारमा अस्पतालले सहजीकरण गर्नेछ। आवश्यक परे वडाको सिफारिसमा अल्ट्रासाउन्ड, मेमोग्रामलगायतका परीक्षणसमेत गराउन सकिने व्यवस्था मिलाइने उनले बताए।
यसअघि पनि काठमाडौं महानगरपालिकाले क्यान्सर रोग परीक्षणका लागि एकमहिने शिविर सञ्चालन गरेको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।