काठमाण्डौ । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बीमितलाई स्वास्थ्य बीमा सेवामा लाग्दै आएको सहभुक्तानी हटाइएको छ।
स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित तीन जिल्लाका बीमितलाई राहतस्वरूप स्वास्थ्य उपचारमा लाग्ने सहभुक्तानी (कोपेमेन्ट) र क्यापिङ हटाउने निर्णय गरेको हो।
बोर्डका अनुसार स्वास्थ्य बीमा सेवा सहज रूपमा सञ्चालन गरी प्रभावित नागरिकलाई उपचारमा सहजीकरण गर्न तोकिएको समयावधिसम्म तीनवटै जिल्लाका स्वास्थ्य बीमा सेवा प्रदायक संस्थामा सहभुक्तानी तथा क्यापिङ नलिने व्यवस्था गरिएको छ।
त्यस्तै, स्वास्थ्य बीमा परिचयपत्र साथमा नभएका बीमितले पनि उपचार सेवा पाउने भएका छन्। परिचयपत्र नभएको अवस्थामा सेवा प्रदायक स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको आइएमआइएस प्रणालीमार्फत बीमा नम्बर यकिन गरी स्वास्थ्य बीमा सेवा उपलब्ध गराइने बोर्डले जनाएको छ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सामान्य अवस्थामा बीमितले उपचार गराउँदा लाग्ने खर्चको १० प्रतिशत रकम आफैंले भुक्तानी गर्नुपर्ने व्यवस्था छ। तर, बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका बीमितका लागि उक्त सहभुक्तानी हटाइएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।