काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझ गरिएको अनुगमनका क्रममा ब्याङ्क्वेटमा मौज्दात रहेका ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरिएको हो।
ब्याङ्क्वेट सञ्चालकले असोज महिनामा पार्टी प्यालेसमा विभिन्न भोज तथा कार्यक्रम बढी हुने भएकाले आवश्यकताका लागि चितवन पुगेर बिहीबार मात्रै ग्यास ल्याएको बताएका थिए। स्थानीय प्रशासनको अनुरोधपछि मौज्दात रहेका ग्यास सिलिन्डर आवश्यक परेका सर्वसाधारणलाई वितरण गरिएको उनले जानकारी दिए।
यसैबीच, जिल्ला प्रहरीले ग्यासको कालोबजारी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले भक्तपुर नगरपालिका–२, इटाछेबाट १४ वटा सगर ग्यास सिलिन्डरसहित ४१ वर्षीय राजेश कर्मचार्यलाई पक्राउ गरेको जनाएको छ।
त्यस्तै, सूर्यविनायक नगरपालिका–३, ब्रह्मनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश साह पनि पक्राउ परेका छन्। सर्लाहीको बरहथवा नगरपालिका–७ का साहले ग्यास सिलिन्डर प्रतिगोटा दुई हजार ८०० रुपैयाँमा बिक्री गर्दै आएको सूचना पाएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार साहको पसलबाट ७५ वटा हिमाल ग्यासका सिलिन्डरसमेत जफत गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।