काठमाण्डौ । निरन्तर दबाबमा रहेको सेयरबजारलाई सुधार गर्न सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले लगानीकर्ताको मनोबल बढाउँदै बजारमा देखिएका समस्या समाधान गर्ने उद्देश्यले आगामी साताभित्र पूँजीबजार सुधारसम्बन्धी प्याकेज सार्वजनिक गरिने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पूँजी निर्माणको आधारका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताए ।
उनले सुस्त बनेको अर्थतन्त्रलाई चलायमान बनाउन तत्कालीन तथा संरचनागत सुधारलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि बढाइने जानकारी दिए । निजी क्षेत्रको व्यावसायिक आत्मविश्वास बढाउनेदेखि बाढी प्रभावित उद्योग तथा व्यवसायको पुनरुत्थानसम्मका कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ ।
निजी क्षेत्रको खस्किएको व्यावसायिक आत्मविश्वास पुनःस्थापित गर्न सरकारले छुट्टै प्याकेजसमेत तयार गरिरहेको अर्थमन्त्री वाग्लेले बताए । रोकिएका लगानीलाई अघि बढाउने, नयाँ लगानी आकर्षित गर्ने तथा उत्पादन र रोजगारी विस्तार गर्ने उद्देश्यले निजी क्षेत्रसँग सम्बन्धित सुधारका कार्यक्रम ल्याइने वाग्लेले बताए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।