काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाल्यकाल बिताएको न्यूयोर्कस्थित घर झन्डै २० लाख अमेरिकी डलरमा बिक्री भएको छ।
लामो समयसम्म खाली र बेवास्तामा परेको उक्त घर व्यापक पुनर्निर्माणपछि १९ लाख ३० हजार डलरमा बिक्री भएको हो। घरका पछिल्ला मालिक तथा रियल इस्टेट डेभलपर टमी लिनले गत वर्ष मात्रै ८ लाख ३५ हजार डलरमा खरिद गरेका थिए।
यसरी हेर्दा खरिद मूल्यको तुलनामा एक वर्षमै घरको मूल्य दोब्बरभन्दा बढी पुगेको छ। यद्यपि लिनले घरलाई आधुनिक स्वरूप दिन थप करिब ५ लाख डलर खर्च गरेका थिए।
न्यूयोर्कको क्विन्सस्थित जमैका इस्टेट्स क्षेत्रमा रहेको ट्युडर शैलीको उक्त घरसँग ट्रम्प परिवारको पुरानो सम्बन्ध छ। ट्रम्पका पिता तथा घरजग्गा व्यवसायी फ्रेड ट्रम्पले सन् १९४० मा यो घर निर्माण गरेका थिए।
डोनाल्ड ट्रम्प करिब चार वर्षको उमेरसम्म यही घरमा बसेका थिए। त्यसपछि ट्रम्प परिवार अन्यत्र सरेको थियो। परिवारले धेरै वर्षअघि नै उक्त घरको स्वामित्व छाडिसकेको छ।
पाँच शयनकक्ष र तीन बाथरुम रहेको घर पछिल्ला केही वर्षदेखि जीर्ण अवस्थामा पुगेको थियो। लामो समय खाली रहँदा घरभित्र ढुसी लागेको र बिरालाहरू बस्ने अवस्थासम्म पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
डेभलपर लिनले घर खरिद गरेपछि करिब आठ महिनासम्म पुनर्निर्माण गरेका थिए। पुनर्निर्माणका क्रममा आधुनिक शैलीको भान्सा, हेरिङबोन डिजाइनको काठे भुइँ तथा स्पाजस्ता सुविधा भएको बाथरुमलगायतका संरचना थपिएको बताइएको छ।
जुलाईमै एक अज्ञात खरिदकर्तासँग घर बिक्रीको सम्झौता भएको थियो। शुक्रबार रियल इस्टेटसम्बन्धी वेबसाइटहरूमा बिक्री मूल्य १९ लाख ३० हजार डलर रहेको विवरण सार्वजनिक भएको हो।
यो घरको मूल्यमा विगतमा पनि ट्रम्पको नामको प्रभाव देखिएको थियो। सन् २०१७ मा ट्रम्प पहिलोपटक अमेरिकी राष्ट्रपति बनेको केही महिनापछि उक्त घर २१ लाख ४० हजार डलरमा बिक्री भएको थियो।
त्यसपछि ‘ट्रम्प बर्थ होम एलएलसी’ नामक संस्थाले घर खरिद गरेको थियो। केही समय उक्त घर एयरबीएनबीमार्फत पर्यटक तथा पाहुनालाई भाडामा समेत उपलब्ध गराइएको थियो।
त्यसबेला घरभित्र ट्रम्पको जीवन–आकारको कार्डबोर्ड कटआउट, उनको चर्चित पुस्तक ‘द आर्ट अफ द डील’ तथा ट्रम्पको तस्वीरसहितका विभिन्न सामग्री राखिएका थिए। ट्रम्पसँग जोडिएको इतिहासका कारण घर पर्यटक तथा उनका समर्थकबीच समेत चासोको विषय बनेको थियो।
सन् २०१९ मा यो घर पुनः बिक्रीमा राखिएको थियो। त्यसबेला २९ लाख डलर माग गरिएको भए पनि खरिदकर्ता भेटिएको थिएन।
अन्ततः मूल्य घट्दै गएपछि गत वर्ष लिनले ८ लाख ३५ हजार डलरमा घर हात पारेका थिए। जीर्ण घरको व्यापक पुनर्निर्माण र ट्रम्पसँग जोडिएको ऐतिहासिक पहिचानलाई उपयोग गर्दै उनले यसपटक १९ लाख ३० हजार डलरमा बिक्री गर्न सफल भएका हुन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।