काठमाण्डौ । लाभांश सिजन सुरु भएसँगै हालसम्म २० वटा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने कम्पनीमा अधिकांश बैंक तथा वित्तीय संस्था रहेका छन् ।
कम्पनीहरूले सार्वजनिक गरेको विवरणअनुसार अधिकांशले बोनस सेयरको तुलनामा नगद लाभांशलाई प्राथमिकता दिएका छन् ।
गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा कम्पनीहरूले लाभांश घोषणा गर्न थालेसँगै लगानीकर्ताको ध्यान पनि लाभांश दिने कम्पनीतर्फ केन्द्रित हुन थालेको छ । विशेषगरी बैंक तथा वित्तीय संस्थाहरूले लाभांश घोषणा गर्न थालेपछि दोस्रो बजारमा समेत यसको प्रभाव देखिन सक्ने अपेक्षा गरिएको छ ।
हालसम्म बैंकिङ सेक्टरबाट लाभांश प्रस्ताव गर्ने कम्पनीहरुमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक, आईसीएफसी फाइनान्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंक रहेका छन् ।
त्यस्तै, हाइड्रो सेक्टरबाट स्नो रिभर्स लिमिटेड, अरुण भ्याली हाइड्रो, युनाइटेड इदि मार्दी, सुपर मादी हाइड्रो र माण्डु हाइड्रोपावर छन् ।
यसका साथै उत्पादन तथा प्रशोधन समूहबाट नेपाल ल्युब आयल, रिलायन्स स्पिनिङ मिल्स, सवोत्तम पेन्ट्स छन् भने पर्यटन समूहबाट कालिञ्चोक दर्शन लिमिटेड रहेको छ ।
अधिकांश कम्पनीहरुले डबल डिजिटमा लाभांश प्रस्ताव गरेका छन् । सबैभन्दा बढी लाभांश घोषणा गर्नेमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ । यो कम्पनीले ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । त्यस्तै, सबैभन्दा थोरै लाभांश प्रस्ताव गर्ने कम्पनीमा निफ्रा र अरुण भ्याली हाइड्रो रहेका छन् ।
१७ कम्पनीबाट अझै लाभांश पाउने अवसर
लाभांश वितरणका लागि कम्पनीहरूले नियामकीय स्वीकृति तथा साधारण सभाबाट पारित गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । त्यसपछि सम्बन्धित कम्पनीले बुक क्लोजको मिति तय गरी योग्य सेयरधनीलाई घोषित लाभांश वितरण गर्नेछन् ।
हालसम्म लाभांश प्रस्ताव गरेका २० कम्पनीमध्ये १२ कम्पनीले बुकक्लोजको मिति तोकिसकेका छन् भने ८ कम्पनीले तोक्नै बाँकी छ ।
तीमध्येपनि ३ वटा कम्पनीको भने बुकक्लोज भइसकेको छ । यता ९ कम्पनीको भने बुकक्लोज हुन बाँकी छ । यसर्थमा लगानीकर्ताहरुले बुकक्लोज हुन बाँकी रहेका ९ कम्पनी र मिति तोक्नै बाँकी रहेका ८ कम्पनी गरी १७ कम्पनीले सेयर किन्दा अझै लाभांश पाउनेछन् ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।