काठमाण्डौ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सेप्टेम्बर २३ देखि विश्वभर इरानी एयरलाइन्सका लागि हवाई क्षेत्र बन्द गरिने घोषणा गरेपछि इरानका वायुसेवा कम्पनीमाथि थप दबाब बढेको छ। अमेरिकी घोषणापछि टर्की, इराक र जर्जियाले पनि आफ्ना हवाई क्षेत्रमा इरानी एयरलाइन्सको प्रवेशमा प्रतिबन्ध लगाएका छन्।
एएफपीका अनुसार अमेरिकी ट्रेजरी विभागको घोषणापछि इराकले इरानी एयरलाइन्सका उडान निलम्बन गर्ने तयारी गरेको इराकी अधिकारीहरूले बताएका छन्। त्यसपछि जर्जियाले पनि आफ्नो हवाई क्षेत्रमा इरानी एयरलाइन्सलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।
यसअघि इरानी एयरलाइन्स महान एयरले टर्की सरकारको अनुरोधपछि टर्कीतर्फका आफ्ना उडान स्थगित गरेको घोषणा गरेको थियो। महान एयरका अनुसार टर्की पक्षले उडान रोक्न अनुरोध गरेपछि सेवा स्थगित गरिएको हो।
अमेरिकी ट्रेजरी विभागले करिब दुई साताअघि २७ वटा इरानी एयरलाइन्सलाई प्रतिबन्ध सूचीमा समावेश गरेको थियो। अमेरिकी प्रतिबन्धसँगै विभिन्न देशले इरानी विमान कम्पनीका उडानमा थप प्रतिबन्ध लगाएपछि इरानको अन्तर्राष्ट्रिय हवाई सेवा प्रभावित हुने सम्भावना बढेको छ।
नयाँ प्रतिबन्ध कार्यान्वयनमा आएपछि इरानी एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान सञ्चालन, यात्रु आवागमन तथा क्षेत्रीय हवाई सम्पर्कमा थप असर पर्न सक्ने देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।