काठमाण्डौ । घरायसी र व्यावसायिक प्रयोजनमा एउटै तौल र मूल्यको एलपी ग्यास प्रयोग हुँदै आएको अवस्थामा सरकारले व्यावसायिक क्षेत्रमा ठूलो क्षमताको सिलिन्डर प्रयोगमा ल्याउने तयारी थालेको छ। यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छुट्टै अध्ययन समिति गठन गरेर काम अघि बढाएको हो।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतको संयोजकत्वमा गठित समितिमा नेपाल गुणस्तर तथा नापतौल विभाग, भन्सार विभाग, नेपाल आयल निगम तथा ग्यास उद्योगीका प्रतिनिधि सहभागी छन्। समितिले व्यावसायिक प्रयोजनका लागि हाल प्रयोग भइरहेको १४.२ केजी क्षमताको सिलिन्डरको विकल्पमा ठूलो तौलको सिलिन्डर प्रयोग गर्न सकिने विषयमा अध्ययन गरिरहेको छ।
समितिले १५ दिनभित्र प्रतिवेदन तयार गर्ने तयारी गरिरहेको छ ।
नेपालमा अहिले घरायसी उपभोक्ता, रेस्टुरेन्टदेखि पाँचतारे होटलसम्म १४.२ केजी क्षमताको एलपी ग्यास सिलिन्डर प्रयोग हुँदै आएको छ। घरायसी र व्यावसायिक प्रयोजनका लागि मूल्यसमेत एउटै हुँदा सरकारी अनुदानको ठूलो हिस्सा व्यावसायिक क्षेत्रमा समेत जाने गरेको नेपाल आयल निगमको भनाइ छ।
निगमका अनुसार हाल एलपी ग्यासमा प्रतिसिलिन्डर ४११ रुपैयाँ घाटा रहेको छ। उक्त रकम निगमले अनुदानमार्फत समायोजन गर्दै आएको छ।
घरायसी र व्यावसायिक प्रयोजनमा एउटै मूल्य कायम हुँदा वार्षिक करिब ७ देखि ८ अर्ब रुपैयाँ अनुदानमा खर्च भइरहेको निगमको दाबी छ। व्यावसायिक प्रयोजनका लागि छुट्टै प्रणाली लागू गर्न सके अनुदानको भार घटाउन सकिने अपेक्षा गरिएको छ।
हाल बजारमा १४।२ केजी ग्यास सिलिन्डरको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ रहेको छ। यो मूल्य सर्वसाधारणदेखि ठूला होटलसम्मका उपभोक्ताका लागि समान छ।
नेपाल गुणस्तर तथा नापतौल विभागले घरायसी तथा व्यावसायिक प्रयोजनका लागि ५ केजी, १४.२ केजी, १९ केजी र ४५० केजी क्षमताका सिलिन्डर प्रयोग गर्न सकिने मापदण्ड तयार गरिसकेको छ।
सरकारको अहिलेको अध्ययनमा विशेषगरी ४५० केजी क्षमताको सिलिन्डरलाई व्यावसायिक प्रयोजनका लागि प्रयोगमा ल्याउने विषयलाई आधार बनाइएको छ।
व्यावसायिक क्षेत्रमा ठूलो क्षमताका एलपी ग्यास सिलिन्डर प्रयोग गर्ने अभ्यास छिमेकी भारतमा समेत रहेको छ। इन्डियन आयल कर्पोरेसनअन्तर्गतको इन्डियन ब्रान्डले ‘जम्बो सिलिन्डर’ नाममा ४५० केजी क्षमताको एलपी ग्यास सिलिन्डर बजारमा ल्याएको छ। यस्ता सिलिन्डर होटल, रेस्टुरेन्ट तथा क्यान्टिनमा प्रयोग हुँदै आएका छन्।
त्यस्तै सुपरग्यासले ‘म्याक्सिमा’ नाममा ४५० केजी क्षमताको सिलिन्डर सञ्चालनमा ल्याएको छ। टोटल इनर्जीले पनि ‘मिनी बल्क’ सेवामार्फत ४५० केजी क्षमताको एलपी ग्यास उपलब्ध गराउँदै आएको छ।
उच्च मात्रामा ग्यास आवश्यक पर्ने धातु, फलाम तथा स्टिल उद्योगलगायतका क्षेत्रमा समेत यस्ता ठूला क्षमताका सिलिन्डर प्रयोग हुने गरेका छन्।
नेपाल आयल निगमका अनुसार कुल एलपी ग्यास खपतमा करिब ७० प्रतिशत घरायसी र ३० प्रतिशत व्यावसायिक क्षेत्रमा प्रयोग हुने गरेको छ।
यसरी कुल खपतको झण्डै एकतिहाइ हिस्सा व्यावसायिक क्षेत्रले प्रयोग गर्दा पनि घरायसी उपभोक्ताकै दरमा ग्यास उपलब्ध गराउँदा राज्यको अनुदान व्यावसायिक उपभोक्ताले समेत पाउने अवस्था छ।
सरकारले व्यावसायिक प्रयोजनका लागि छुट्टै तौल र मूल्य निर्धारण गर्न सके घरायसी उपभोक्ताका लागि दिइने अनुदानलाई लक्षित गर्न सहज हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।