काठमाण्डौ । अविरल वर्षाका कारण ल्यान्डफिल साइट प्रभावित भएपछि काठमाडौं महानगरपालिकाले फोहोर सङ्कलन तथा ढुवानी कार्यमा अवरोध आएको जनाएको छ। महानगरले नगरवासीलाई केही समयसम्म फोहोर घरबाहिर ननिकाल्न आग्रह गरेको छ।
महानगरको वातावरण व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै निरन्तर वर्षाका कारण फोहोर विसर्जन हुने क्षेत्रमा पहिरो गएको तथा माथिल्लो भागबाट लेदोसहितको माटो खसिरहेकाले नियमित फोहोर व्यवस्थापन प्रभावित भएको जनाएको हो।
लेदो र माटो थुप्रिएपछि फोहोर बोकेका सवारीसाधनलाई ल्यान्डफिल साइटसम्म पुग्न र त्यहाँ फोहोर विसर्जन गर्न कठिनाइ भएको महानगरले जनाएको छ। यही कारण फोहोर सङ्कलन र ढुवानी प्रक्रिया केही समयका लागि अनियमित हुने बताइएको छ।
महानगरले घर, पसल, व्यवसाय तथा कम्पाउन्डबाट निस्कने फोहोर सडक, चोक, सार्वजनिक स्थल, खुला क्षेत्र तथा खोलानालामा नफाल्न आग्रह गरेको छ।
फोहोर सङ्कलन नियमित नहुन्जेलसम्म सम्भव भएसम्म आफ्नै घर वा परिसरभित्र सुरक्षित रूपमा भण्डारण गर्न महानगरको सुझाव छ।
त्यस्तै, फोहोरलाई लामो समयसम्म सुरक्षित राख्न तथा पछि व्यवस्थापन सहज बनाउन सड्ने र नसड्ने फोहोर छुट्टाछुट्टै राख्न आग्रह गरिएको छ।
महानगरका अनुसार वर्षातका बेला सडक तथा सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्दा ढल तथा नाला बन्द हुने, पानीको निकास रोकिने र त्यसबाट बाढी तथा डुबानको जोखिम थप बढ्न सक्छ।
महानगरले मौसम र ल्यान्डफिल साइटको अवस्था सुधारिएपछि नियमित फोहोर सङ्कलन तथा ढुवानी पुनः सञ्चालन गरिने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।