काठमाण्डौ । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आफ्ना केही सर्त स्वीकार गरेमा रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलमार्ग सात दिनभित्र पुनः खोल्ने प्रस्ताव अघि सारेका छन्। त्यससँगै अमेरिकासँग आणविक वार्ता पनि पुनः सुरु गर्न सकिने उनले बताएका छन्।
संयुक्त राष्ट्रसंघको महासभाको बैठकका क्रममा पत्रकारहरूसँग कुरा गर्दै अराघचीले निश्चित सर्त पूरा भए सात दिनपछि हर्मुज जलमार्ग खोलिने र अमेरिका–इरान वार्ता पुनः सुरु हुने बताएका हुन्।
उनका अनुसार इरानले अमेरिकासमक्ष राखेका सर्त नयाँ नभई यसअघि हस्ताक्षर भएको इस्लामाबाद समझदारीपत्र ९एमओयू० मै उल्लेख गरिएका विषय हुन्। उक्त समझदारीपत्रमा अमेरिकी राष्ट्रपतिले हस्ताक्षर गरेको दाबी अराघचीले गरेका छन्।
इस्लामाबाद एमओयू जुन महिनामा अमेरिका र इरानबीच भएको युद्धविरामसम्बन्धी समझदारीसँग सम्बन्धित छ। उक्त समझदारी जुलाईको सुरुवातमै विफल भएको थियो। ट्रम्प प्रशासनले भने जुन महिनाको सम्झौतामा उल्लेख भएका सर्तमा पुनः फर्कन नसकिने बताउँदै आएको छ।
इरानसँगको युद्धको विषय यसै साता अमेरिका र चीनबीच भएको उच्चस्तरीय वार्तामा समेत उठेको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङ तीनदिने अमेरिका भ्रमणमा रहेका बेला अमेरिकी राष्ट्रपति ट्रम्पसँग व्यापार, कृत्रिम बुद्धिमत्ता, ताइवान र इरानलगायत विषयमा छलफल भएको छ।
ट्रम्पले इरानसँग समाधान खोज्न चीनले तेहरानमाथि दबाब बढाउन सहयोग गर्नुपर्ने अपेक्षा राख्दै आएका छन्। संयुक्त राष्ट्रसंघको महासभाका क्रममा न्यूयोर्कमा अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता पुनः सुरु भएको बताइएको छ।
चीनका लागि अमेरिकी राजदूत डेभिड पर्ड्युले पछिल्ला साताहरूमा इरानसम्बन्धी अमेरिकी चासो चीनसमक्ष स्पष्ट रूपमा राखिएको बताएका छन्। उनले इरानलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने, चाहे त्यो गुप्तचर सूचना, पार्टपुर्जा वा सैन्य उपकरणमार्फत होस्, स्वीकार्य नहुने अमेरिकी धारणा रहेको बताए।
इरानी राष्ट्रपति मसुद पेजेस्कियनले भने युद्ध अन्त्य गर्ने वा नगर्ने निर्णय अमेरिकाले गर्नुपर्ने बताएका छन्।
फक्स न्युजसँगको अन्तर्वार्तामा उनले अमेरिकाले चाहेमा सात महिनादेखि जारी द्वन्द्व अन्त्य गर्न सक्ने धारणा व्यक्त गरेका हुन्। मध्यपूर्वमा मिसाइल आक्रमण जारी रहेका बेला चीनले पनि युद्ध अन्त्यका लागि कूटनीतिक पहल अघि बढाइरहेको छ।
यसैबीच, साउदी अधिकारीहरूका अनुसार शुक्रबार बिहान हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न क्षेत्रमा दर्जनौँ मिसाइल र ड्रोन प्रहार गरेका थिए। साउदी पक्षले तीमध्ये छवटा ब्यालिस्टिक मिसाइललाई रोकिएको जनाएको छ।
आक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राख्दै मक्का, जेद्दा र यान्बु क्षेत्रमा आपत्कालीन चेतावनी जारी गरिएको थियो। साउदी अरब, टर्की र पाकिस्तानले पनि मक्का संयुक्त रक्षा सम्झौताअन्तर्गत साउदी अरबलाई सहयोग गर्ने उपायबारे छलफल गर्न आफ्ना सैन्य प्रमुखहरूको आकस्मिक बैठक गर्ने तयारी गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।