काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार लगानी बैंक (AIIB) को ११औँ वार्षिक बैठकमा सहभागी हुन शनिबार साँझ कतारको राजधानी दोहा प्रस्थान गरेका छन्। अर्थ मन्त्रालयको विज्ञप्तिअनुसार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी साँझ ७ बजे कतार एयरवेजको नियमित उडानबाट प्रस्थान गरेका हुन्।
दोहामा भदौको बाढीपछिको पुनर्निर्माणसहित नेपालका पूर्वाधार प्राथमिकताका लागि बहुपक्षीय सहयोग र लगानी जुटाउने विषयलाई अर्थमन्त्रीले अघि सार्ने मन्त्रालयले जनाएको छ। बोर्ड अफ गभर्नर्सको बैठकमा उनले जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा र आर्थिक वृद्धिसँग सम्बन्धित पूर्वाधारका आवश्यकताबारे छलफल गर्नेछन्।
बैठकका क्रममा AIIB की अध्यक्षसँगै भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ। ती भेटमा नेपालका प्राथमिकता प्रस्तुत गरिने भए पनि कुनै नयाँ लगानी सम्झौता वा वित्तीय प्रतिबद्धता हुनेबारे मन्त्रालयले जानकारी दिएको छैन।
AIIB का अनुसार दोहामा हुने ११औँ वार्षिक बैठक सेप्टेम्बर २८ र २९ मा तय गरिएको छ। यस वर्षको बैठकको विषयवस्तु दिगो पूर्वाधारको प्रभाव र नवप्रवर्तनमा केन्द्रित छ।
प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल पनि सहभागी छन्। मन्त्रालयका अनुसार प्रतिनिधिमण्डल असोज १४ गते, बुधबार स्वदेश फर्कनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।