आईतवार, आश्विन ११,२०८३ 02:00:50
Bizshala
  • आईतवार, आश्विन ११,२०८३ 02:00:50
Bizshala
Global IME Bank Limited

बाढीपहिरोले विद्युत् पूर्वाधारमा ठूलो क्षति, १ हजार ३०३ मेगावाटसम्मको प्रणाली प्रभावित

बाढीपहिरोले विद्युत् पूर्वाधारमा ठूलो क्षति, १ हजार ३०३ मेगावाटसम्मको प्रणाली प्रभावित
New Office

 

काठमाण्डौ । अविरल वर्षापछि आएको बाढीपहिरोले देशका विभिन्न क्षेत्रको विद्युत् प्रसारण, वितरण तथा उत्पादन प्रणालीमा ठूलो असर पारेको छ। प्रसारण लाइनमा फाल्ट आउनुका साथै जलविद्युत् आयोजना र सबस्टेसनका उपकरणमा समस्या देखिएपछि पोखरा, बुटवल, हेटौंडा र काठमाडौं क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार विभिन्न स्थान र फरक समयमा देखिएका लाइन, उत्पादन तथा लोड अवरोधको कुल योग करिब १ हजार ३०३ मेगावाट बराबर पुगेको छ। मन्त्रालयले यो एकै समयमा प्रणालीबाट बाहिरिएको विद्युत् परिमाण भने नभएको स्पष्ट पारेको छ।

पोखरा क्षेत्रमा सबैभन्दा ठूलो असर

बाढीपहिरोबाट सबैभन्दा बढी असर पोखरा क्षेत्रमा परेको छ। कुश्मा–न्यू बुटवल २२० केभी प्रसारण लाइनमा फाल्ट आउँदा करिब २०० मेगावाट विद्युत् प्रभावित भएको छ।

त्यस्तै, रौघाट–दाना लाइन १ र २ मा आएको अवरोधबाट करिब १५५ मेगावाट प्रभावित भएको छ।

कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस–नामर्जुङ, सेती नदी–करुवासेट, अपर दोर्दी र मोदीलगायतका जलविद्युत् आयोजनाको उत्पादन तथा आपूर्तिसमेत प्रभावित भएको छ। पोखरा क्षेत्रका विभिन्न आयोजनाबाट मात्रै ४०० मेगावाटभन्दा बढी क्षमतामा असर परेको विवरण छ।

रौघाट क्षेत्रमा न्यू बुटवल–कुश्मा २२० केभी लाइनमा आएको फाल्टका कारण करिब ११० मेगावाट प्रभावित भएको थियो।

बुटवल क्षेत्रमा पनि प्रसारण लाइन प्रभावित

बुटवल क्षेत्रमा न्यू भरतपुर–न्यू बुटवल २२० केभी प्रसारण लाइनमा रुख ढलेपछि फाल्ट आएको थियो। उक्त लाइन बिहान ९ः५१ बजे पुनः चार्ज गरिएको विवरणमा उल्लेख छ।

चापर–पथलैया १३२ केभी प्रसारण लाइन बन्द हुँदा कावासोती सबस्टेसनमा करिब एक घण्टा लोड कटौती गरिएको थियो।

कावासोती सबस्टेसनमा बिहान ८ बजेदेखि ९ः१५ बजेसम्म २० मेगावाट र हरदी सबस्टेसनमा सोही अवधिमा २५ मेगावाट लोड कटौती गरिएको थियो।

यस्तै, सुनवल–मैनिया तथा बुटवल क्षेत्रका उद्योगमा बिहान ६ः०२ बजेदेखि करिब ५० मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको थियो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

हेटौंडा र औद्योगिक क्षेत्रमा पनि असर

हेटौंडा क्षेत्रमा पनि बाढीले विद्युत् प्रणालीमा असर गरेको छ। माण्डु ६६ केभी लाइनमा बाढीका कारण करिब ३२ मेगावाट प्रभावित भएको छ।

कावासोती–भरतपुर १३२ केभी लाइनअन्तर्गत भरतपुर सबस्टेसनमा सीभीटी जलेपछि आपूर्तिमा समस्या आएको छ।

सिमरा सबस्टेसनमा करिब २० मेगावाट, अमलेखगञ्ज, परवानीपुर तथा वीरगञ्जका उद्योगमा करिब ८० मेगावाट र काम्ने सबस्टेसन तथा उद्योगमा करिब २५ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको विवरण छ।

काठमाडौंमा छोटो समय अवरोध

काठमाडौं उपत्यकामा भने पाटन र टेकु क्षेत्रमा छोटो समय विद्युत् आपूर्ति अवरुद्ध भएको थियो।

पाटन सबस्टेसनमा बिहान ९ बजेदेखि ९ः१० बजेसम्म र टेकु क्षेत्रमा पनि सोही अवधिमा विद्युत् अवरोध भएको थियो।

पाटन क्षेत्रमा पथलैया लाइन र केएल–१ स्युचाटार ६६ केभी लाइन एकै समयमा ओभरलोड हुँदा समस्या आएको विवरण छ। नियमित आपूर्तिमा समस्या आएपछि आपत्कालीन आपूर्ति प्रयोग गरिएको थियो।

पश्चिम र मध्य नेपालको प्रणालीमा व्यापक असर

बाढीपहिरोका कारण प्रसारण लाइनमा आएको फाल्ट, उत्पादन केन्द्रमा अवरोध, सबस्टेसनका उपकरणमा समस्या र त्यसपछि उत्पन्न ओभरलोडले पश्चिम तथा मध्य नेपालको विद्युत् प्रणालीमा उल्लेखनीय प्रभाव पारेको छ।

विशेषगरी पोखरा–बुटवल २२० केभी प्रसारण करिडोर र पथलैया आसपासका १३२ केभी लाइनमा आएको अवरोधले ठूलो क्षेत्र प्रभावित भएको हो।

पुनःस्थापनामा प्राधिकरणको टोली परिचालन

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार क्षतिको प्रारम्भिक विवरण संकलन, अवरुद्ध क्षेत्र पहिचान, वैकल्पिक माध्यमबाट आपूर्ति र क्षतिग्रस्त संरचनाको मर्मतका लागि प्राविधिक तथा मर्मत टोली परिचालन गरिएको छ।

विद्युत् आपूर्ति बन्द भएका स्थानमा सम्भव भएसम्म वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण र वितरण संरचनामार्फत सेवा सुचारु गर्ने प्रयास भइरहेको उनले बताए।

भारी वर्षा, पहिरो र सडक अवरुद्ध भएकाले कतिपय प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको प्राधिकरणको भनाइ छ। पहुँचमार्ग खुल्नासाथ थप जनशक्ति, उपकरण र सामग्री परिचालन गरी मर्मत तथा पुनःस्थापना तीव्र पारिने जनाइएको छ।

प्राधिकरणले विपद्को समयमा क्षतिग्रस्त पोल, ढलेका तार तथा अन्य विद्युत् संरचना नजिक नजान उपभोक्तालाई आग्रह गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.