काठमाण्डौ । दुबईबाट इजरायलको तेलअभिभतर्फ उडेको फ्लाइदुबईको विमानमा पाइलट र सहपाइलटबीच लफडा (झगडा)भएपछि विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरिएको छ।
बुधबार बिहान संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमानले यात्राको करिब दुई घण्टापछि आपत्कालीन संकेत जारी गरेको फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटराडार २४ ले जनाएको छ।
त्यसको केही मिनेटपछि विमानले अपहरणसम्बन्धी संकेतसमेत पठाएको थियो। तर केही समयपछि उक्त संकेत पुनः सामान्य आपत्कालीन संकेतमा परिवर्तन गरिएको थियो।
इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार यो घटना विमान अपहरणसँग सम्बन्धित नरहेको प्रारम्भिक रूपमा देखिएको छ। स्थानीय सञ्चारमाध्यमले इजरायली रक्षा अधिकारीहरूलाई उद्धृत गर्दै पाइलट र सहपाइलटबीच भएको विवादपछि उक्त आपत्कालीन संकेत जारी भएको जनाएको छ।
करिब १५० यात्रु सवार विमान इजरायलको बेन गुरियन विमानस्थलमा अवतरण गर्ने तालिका थियो। तर घटनापछि विमानलाई साउदी अरेबियाको उत्तरपूर्वी क्षेत्रमा रहेको तबुक विमानस्थलमा अवतरण गराइएको थियो।
घटनाको प्रतिक्रिया स्वरूप इजरायली वायुसेनाले लडाकु विमानसमेत परिचालन गरेको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले घटनाबारे तत्काल सुरक्षा अधिकारीहरूसँग आपत्कालीन छलफल गरेका थिए।
विमानमा रहेका अधिकांश यात्रु इजरायली नागरिक रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।