काठमाडौं। काठमाडौं उपत्यकामा भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको लोड व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरणले विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति कटौती गर्ने भएको छ।
कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा असोज १५ देखि २६ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् कटौती गरी भूमिगत लाइनसम्बन्धी तथा आवश्यक प्राविधिक काम गरिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार असोज १५ गते सतुंगल–बौथली, १६ गते मच्छेगाउँ दोभान चोक–खुसी चोक, १७ र २० गते मूलपानी, १८ गते गर्जुधारा, २१ गते बलम्बु, २२ गते कोटेश्वर–बालकुमारी, २४ गते सिफल, २५ गते सतुंगल–धौलागिरी आवास र २६ गते धोबीखोला क्षेत्रमा विद्युत् कटौती हुनेछ।
काठमाडौं उपत्यकाको वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने योजनाअन्तर्गत प्राधिकरणले चरणबद्ध रूपमा काम अघि बढाइरहेको छ। कार्यक्रमअन्तर्गत ३३ केभी, ११ केभी र ४०० भोल्टका विद्युत् लाइन भूमिगत गर्नुका साथै अप्टिकल फाइबरसमेत बिछ्याइने प्राधिकरणले जनाएको छ।
यस योजनाको पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत काम सुरु गरिएको थियो भने दोस्रो चरणमा काठमाडौंका बाँकी सहरी क्षेत्र, तेस्रो चरणमा ललितपुर र भक्तपुर तथा चौथो चरणमा पोखरा र भरतपुर महानगरपालिकाका क्षेत्रमा काम भइरहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।