काठमाण्डौ । सरकारले संघीय संसद्को चालु अधिवेशन भोलि अर्थात् असोज १६ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै त्यससम्बन्धी पत्र राष्ट्रपति कार्यालयमा पठाएको हो। संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ।
संघीय संसद्को चालु अधिवेशन गत वैशाख २८ गतेदेखि सुरु भएको थियो। यस अवधिमा सरकारको नीति तथा कार्यक्रम, चालु आर्थिक वर्षको बजेट तथा बजेटसँग सम्बन्धित विधेयकहरू संसद्बाट पारित भएका छन्।
यसैगरी, संसद् अधिवेशन नरहेका बेला सरकारले जारी गरेका विभिन्न अध्यादेश स्वीकृत भएपछि तिनलाई प्रतिस्थापन गर्न ल्याइएका विधेयकसमेत पारित भई ऐनमा रूपान्तरित भएका छन्।
चालु अधिवेशनबाट वैकल्पिक वित्त परिचालनसम्बन्धी विधेयक, नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने विधेयक तथा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयकसमेत पारित तथा प्रमाणीकरण भएका छन्।
प्रधानमन्त्रीसँग प्रश्नोत्तर भने हुन सकेन
चालु अधिवेशनका क्रममा मन्त्रीहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन भएका छन् भने समसामयिक विषयमा सरकारका तर्फबाट मन्त्रीहरूले संसद्मा जवाफसमेत दिएका छन्।
तर प्रतिनिधिसभा नियमावलीमै व्यवस्था रहेको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने यस अधिवेशनमा सञ्चालन हुन सकेन।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम भदौ १० गतेका लागि तय गरिएको थियो। तर सोही दिन रसुवामा आएको विनाशकारी बाढीका कारण कार्यक्रम रोकिएको थियो र त्यसपछि नयाँ मिति तोकिएन। प्रतिनिधिसभा नियमावलीको नियम ५६ ले प्रत्येक महिनाको पहिलो साताको कुनै एक बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि समय छुट्याउनुपर्ने व्यवस्था गरेको छ।
यससँगै करिब पाँच महिनासम्म चलेको संघीय संसद्को चालु अधिवेशन असोज १६ गते मध्यरातबाट अन्त्य हुने प्रक्रिया अघि बढेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।