काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी-रसुवा बाढीको अकल्पनीय विपत्तिमा परी ज्यान गुमाएका र सम्पर्कबिहीन भएका भन्सार कर्मचारीका परिवारलाई गहिरो समवेदना व्यक्त गर्दै भने-‘तपाईंहरू एक्लो हुनुहुन्न। हामी तपाईंहरूको साथमा छौँ।’
बिहीबार अर्थ मन्त्रालयमा पीडित परिवारका सदस्यहरूसँग सामूहिक भेट गर्दै मन्त्री वाग्लेले भने, ‘सरकारको राजस्व संकलनको जिम्मेवारी बहन गर्दै रसुवाको कठिन कार्यक्षेत्रमा खटिएका काबिल भन्सार कर्मचारीहरूलाई यस्तो अप्रत्याशित विपत्तिले हामीबाट खोसेको छ। पूर्वसूचना र सतर्कता अपनाउनै नसकिने गरी आएको यो बाढीले ठूलो धनजनको क्षति पुर्याएको छ। तपाईंहरूले गुमाएको अपूरणीय क्षतिको पीडा म शब्दमा व्यक्त गर्न सक्दिनँ, तर तपाईंहरूलाई जत्तिकै दुःख हामीलाई पनि छ।’
उनले परिवारका सदस्यहरूलाई आफ्ना समस्या खुलेर मन्त्रालय र भन्सार विभागसमक्ष राख्न आग्रह गर्दै कानुनी आधारमा प्राथमिकताका साथ ती मागहरू पूरा गरिने स्पष्ट पारे। भेटका क्रममा परिवारले पेश गरेको प्राथमिक तहको मागपत्र बुझ्दै मन्त्री वाग्लेले यसलाई चरणबद्ध रूपमा कार्यान्वयन गरिने आश्वासन दिए ।
‘दिवंगत र बेपत्ता कर्मचारीका परिवारको शिक्षा, भरणपोषण र रोजगारी हाम्रो उच्च प्राथमिकतामा छ,’ उनले जोड दिंदै भने, ‘कुनै पनि क्षतिपूर्तिले तपाईंहरूको घाउ पुर्न सक्दैन, तर अबको दैनिकी र भविष्यको बाटो सहज बनाउन हामी पूर्णरूपमा प्रतिबद्ध छौँ। कानुनबमोजिम तत्काल गर्न सकिने कुरा छिट्टै पूरा गर्छौँ भने कानुन संशोधन आवश्यक पर्ने मागहरू विभिन्न मन्त्रालयसँग समन्वय गरेर अघि बढाउँछौँ।’
मन्त्री वाग्लेले घटना दर्ता, बालबालिकालाई छात्रवृत्तिलगायतका विषयलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी दिँदै बेपत्ताहरूको खोजतलासमा सुरक्षाकर्मीहरू अझै सक्रिय रहेको बताउनुभयो। साथै, पीडित परिवारलाई सहजीकरण गर्न मन्त्रालय प्रशासनलाई विशेष कार्यदल गठन गर्न निर्देशनसमेत दिए।
रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारीका परिवारका सदस्यहरू भावविह्वल हुँदै मन्त्रालय आएका थिए। उनीहरूले आफ्नो परिवारको मियो गुमाएपछिको शोक र पीडादायी दिनका अनुभूति अर्थमन्त्रीसमक्ष पोखेका थिए।
भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा रसुवा भन्सार कार्यालयका कर्मचारी नकुल शर्मा, राजेन्द्रकुमार सोनकर, विकास तामाङ, विष्णुप्रसाद भुसाल, भीमबहादुर लामा, दिनेश घिमिरे, अनिता पुरी, प्रेमप्रसाद सेढाई, गोविन्द अधिकारी, सुनिल गुरुङ, नरेशदत्त जोशी, राजु ओली, राम नेपाली, विमल त्रिपाठी र हरिबहादुर खड्का परिरहेका थिए। तीमध्ये भन्सार अधिकृत नकुल शर्माको मात्र शव फेला परेर अन्तिम संस्कार गरिएको छ भने बाँकी १४ जना अझै सम्पर्कबिहीन अवस्थामा छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।