काठमाण्डौ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको बम्पर उपहार पर्साका लालबाबु साह कानुले जितेका छन्।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो १५ दिनको उपहार घोषणा गरेका हुन्।
आन्तरिक राजस्व विभागका अनुसार कानुलाई १० लाख रुपैयाँ बराबरको १५ दिने बम्पर उपहार परेको हो। उनले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा गरेको कारोबार बम्पर उपहारका लागि छनोट भएको विभागले जनाएको छ।
उपहार घोषणा लगत्तै विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले कानुसँग फोनमार्फत सम्पर्क गरी बधाई दिएका थिए। उनले पुरस्कार प्राप्तिका लागि नजिकको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।
विभागका अनुसार असोज १ देखि १५ गतेसम्म बिल लिएर गरिएका ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए।
जसमध्ये नगद कारोबार गरी बिल लिएका उपभोक्ताका २ लाख ४७ हजार ९७९ वटा कारोबार समावेश भएका थिए भने अनलाइन तथा कार्डमार्फत भुक्तानी गरेर वस्तु खरिद गरिएका ३ करोड १५ लाख ७० हजार ३०७ वटा कारोबार उपहार कार्यक्रममा समावेश भएका थिए।
करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत दैनिक रूपमा समेत एक लाख रुपैयाँका दरले उपहार प्रदान गरिँदै आएको छ। असोज १ देखि १५ गतेसम्मका दैनिक विजेताका कुपनसमेत सार्वजनिक गरिएको विभागले जनाएको छ।
कार्यक्रमको उद्देश्य बिल लिएर कारोबार गर्ने संस्कृतिलाई प्रोत्साहन गर्नु, औपचारिक कारोबार विस्तार गर्नु तथा कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउनु रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।