काठमाण्डौ । क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. ६२) ले आफ्ना ग्राहकका लागि ‘स्मार्ट मार्जिन ट्रेडिङ सुविधा’ सञ्चालनमा ल्याउने भएको छ।
कम्पनीका अनुसार उक्त सुविधाअन्तर्गत ग्राहकले आफ्नो उपलब्ध पूँजीको प्रभावकारी उपयोग गर्दै थप लगानी गर्न सक्नेछन्। कम्पनीले यो सुविधालाई अतिरिक्त खरिद क्षमता उपलब्ध गराउने माध्यमका रूपमा मात्र नभई तरलता व्यवस्थापन गर्दै बजारका अवसरमा समयमै सहभागी हुन सहयोग गर्ने वित्तीय सुविधाका रूपमा अघि सारेको जनाएको छ।
कम्पनीले स्मार्ट मार्जिन ट्रेडिङ सुविधामा वार्षिक ७.९९ प्रतिशत ब्याजदर कायम गरेको छ। ग्राहकले स्वीकृत सीमाभित्र आवश्यकताअनुसार उक्त वित्तीय सुविधा उपयोग गर्न सक्नेछन्।
क्यापिटल म्याक्सका अनुसार मार्जिन ट्रेडिङअन्तर्गत ग्राहकले १० लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म वित्तीय सीमा प्राप्त गर्न सक्नेछन्। ग्राहकले न्यूनतम ३० प्रतिशत मार्जिन राख्नुपर्नेछ भने ब्रोकरमार्फत अधिकतम ७० प्रतिशतसम्म फाइनान्सिङ उपलब्ध गराइनेछ।
यस सुविधाको अवधि १ महिनादेखि ३ महिनासम्म रहनेछ भने सेवा शुल्क ०.२५ प्रतिशत तोकिएको छ।
कम्पनीले ग्राहकलाई स्वीकृत सम्पूर्ण सीमामा नभई वास्तवमा प्रयोग गरिएको रकममा मात्रै ब्याज लाग्ने व्यवस्था गरिएको जनाएको छ। साथै सरल तथा व्यवस्थित प्रक्रिया, थप खरिद क्षमता र प्रतिस्पर्धी ब्याजदरलाई सुविधाको प्रमुख विशेषताका रूपमा प्रस्तुत गरिएको छ।
क्यापिटल म्याक्सले मार्जिन ट्रेडिङसम्बन्धी सम्पूर्ण कारोबार प्रचलित नियम, नियामकीय व्यवस्था, स्वीकृत सीमा तथा कम्पनीका सम्बन्धित शर्तअनुसार हुने स्पष्ट पारेको छ।
बजार जोखिम रहने भएकाले लगानीकर्ताले आफ्नो जोखिम वहन क्षमता र लगानी उद्देश्यलाई ध्यानमा राखेर निर्णय गर्नुपर्ने कम्पनीको भनाइ छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।